बाजुरा ः दुर्गम तथा अशक्त नागरिकसम्म राज्यको सेवा पुर्याउने उद्देश्य सहित बाजुरा जिल्ला प्रशासन कार्यालयले सराहनीय पहल गरेको छ।
प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बाजुराको बुढीनन्दा नगरपालिका-६, कोटीलाका ३३ वर्षीय खगेन्द्र भाटलाई धनगढीस्थित बसोबासमै पुगेर नागरिकताको प्रतिलिपि हस्तान्तरण गरेका हुन् ।
भारतको मुम्बईस्थित बेलापुरमा काम गर्ने क्रममा सन् २०१८ मा भएको रेल दुर्घटनामा दुवै खुट्टा गुमाएका भाट लामो समयदेखि अशक्त अवस्थामा छन् । सोही दुर्घटनामा नागरिकता हराएपछि उनी राज्यबाट प्राप्त हुने आधारभूत सेवासमेत लिनबाट वञ्चित हुँदै आएका थिए।
शारीरिक अवस्थाका कारण प्रशासन कार्यालयसम्म पुग्न नसक्दा नयाँ नागरिकता बनाउने प्रक्रिया पनि अघि बढाउन कठिन भएको उनले बताए । उनका बुबा मदनबहादुर भाटले वडाको सिफारिस सहित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएपछि प्रशासनले आवश्यक प्रक्रिया पूरा गर्दै सेवा घरमै पुर्याएको हो ।
प्रमुख जिल्ला अधिकारी निरौलाले अशक्त तथा पहुँचविहीन नागरिकलाई लक्षित गर्दै घरदैलोमै सेवा पुर्याइएको बताए। “राज्यको सेवा सबै नागरिकसम्म समान रूपमा पुग्नुपर्छ भन्ने मान्यताअनुसार हामीले धनगढीमै पुगेर नागरिकताको प्रतिलिपि उपलब्ध गराएका हौँ,” उनले भने ।
स्थानीय तथा नागरिक अगुवाहरूले प्रशासनको यस कदमलाई समावेशी र नागरिकमैत्री सेवा प्रवाहको उदाहरणका रूपमा लिएका छन् । दुर्गम बाजुराबाट करिब ३०० किलोमिटर टाढा पुगेर सेवा दिनु राज्यको संवेदनशीलता र उत्तरदायित्वको प्रतीक भएको उनीहरूको भनाइ छ।





प्रतिक्रिया