बाजुरा ः बाजुराको उच्च लेकाली भेगमा गएरातिदेखि वर्षासँगै हिमपात भएको छ । यसअघि पनि गत माघको दोस्रो सातापछि जिल्लाको उच्च भेगमा वर्षासँगै हिमपात भएको थियो ।
पछिल्लो हिमपातले खेतीपातीका लागि लाभदायक हुने विश्वासका साथ स्थानीय किसान उत्साहित भएका छन् । जिल्लाका बडीमालिका, बुढीगंगा, त्रिवेणी र बुढीनन्दा नगरपालिका तथा हिमाली, खप्तड छेडेदह, गौमुल, स्वामीकार्तिक र जगन्नाथ गाउँपालिकाका लेकाली क्षेत्र र गाउँहरूमा हिमपात भएको हो ।
हिमाली गाउँपालिकाको बिच्छ्या, रुगिन र बाँधु, गौमुलको अम्लिस, दहकोट, बूढीनन्दाको कुरु र पाण्डुसैन तथा खप्तड छेडेदह लगायतका स्थानमा हिमपात परेको स्थानीयले बताएका छन् ।
कृषि ज्ञान केन्द्र बाजुराका कार्यालय प्रमुख जसीराम सहानीका अनुसार वर्षासँगै परेको हिमपातले बालीनाली सप्रिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।
यसैबीच, डिभिजन वन कार्यालय बाजुराले वन्यजन्तु तथा जङ्गली जनावरको चोरी-सिकारी नगर्न सबैलाई आग्रह गरेको छ। चोरी-सिकारी गरेको पाइएमा वन ऐन अनुसार कानुनी कारबाही गरिने कार्यालयका सूचना अधिकारी सुवाशचन्द्र अयडीले जानकारी दिएका छन्।





प्रतिक्रिया