बाजुरा ः प्रतिनिधिसभा निर्वाचनको प्रतिस्पर्धा चलिरहेका बेला बाजुराको राजनीतिक माहोल निकै तातेको थियो । नेकपा एमाले जिल्ला कमिटी बाजुराका सदस्य तथा बुढीनन्दा नगरपालिका-६ का वडा अध्यक्ष गजेन्द्र शाहीसँग सम्बन्धित भनिएको एउटा अडियो सामाजिक सञ्जालमा सार्वजनिक भएपछि पार्टीभित्रै हलचल मच्चिएको छ ।
सामाजिक सञ्जालमा भाइरल भएको उक्त अडियोमा शाहीले मतदातासँग ‘तारो’ चुनाव चिह्नमा मतदान गर्न आग्रह गरेको जस्तो सुनिने दाबी गरिएको छ । अडियो सार्वजनिक भएपछि स्थानीय स्तरमा एमाले कार्यकर्ताबीच व्यापक चर्चा सुरु भएको छ ।
स्थानीय कार्यकर्ताहरूका अनुसार पार्टीकै जिम्मेवार पदमा रहेका व्यक्तिबाट पार्टीको आधिकारिक उम्मेदवार र चुनाव चिह्न भन्दा फरक चिन्हमा मतदान गर्न आग्रह गरिएको आरोप गम्भीर विषय भएको भन्दै यसबारे पार्टी नेतृत्वले छानबिन गर्नुपर्ने माग उठ्न थालेको छ ।
निर्वाचनको संवेदनशील समयमा यस्तो अडियो बाहिरिनुले एमालेले पराजय भोग्नु परेको कतिपयको भनाइ रहेको छ । विपक्षी दलका केही नेताहरुले भने यस घटनालाई एमालेभित्र देखिएको असन्तुष्टि वा आन्तरिक मतभेदको संकेतका रूपमा टिप्पणी गर्न थालेका छन् ।
यद्यपि, सार्वजनिक भएको अडियोबारे वडा अध्यक्ष शाहीले हालसम्म औपचारिक प्रतिक्रिया दिएका छैनन्, र अडियोको प्रामाणिकता स्वतन्त्र रुपमा पुष्टि भएको छैन् ।





प्रतिक्रिया