बाजुरा ः प्रतिनिधि सभा सदस्य पदका लागि २०८२ फागुन २१ गते सम्पन्न निर्वाचनमा नेकपा (एमाले) का तर्फबाट उम्मेदवार बनेका लालबहादुर थापाले आफूलाई मतदान गर्ने मतदाता तथा निर्वाचनमा सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत प्रतिक्रिया जनाउँदै थापाले निर्वाचनमा आफ्नो पक्षमा नतिजा नआए पनि बाजुराको समग्र विकास र न्यायका लागि आफू निरन्तर प्रतिबद्ध भएर लागिरहने बताएका छन् ।
उनले निर्वाचनमा सक्रिय भूमिका निर्वाह गर्ने पार्टीका नेता तथा कार्यकर्ता, आफू प्रति सहानुभूति व्यक्त गर्ने आदरणीय आमा-बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूलाई विशेष धन्यवाद दिएका छन्।
साथै निर्वाचनलाई निष्पक्ष र व्यवस्थित रुपमा सम्पन्न गराउन भूमिका खेल्ने मुख्य निर्वाचन अधिकृत, स्थानीय प्रशासन, सुरक्षा निकायका प्रमुखहरू, मतदान अधिकृत, कर्मचारी तथा सञ्चारकर्मीहरूप्रति पनि कृतज्ञता व्यक्त गरेका छन् ।
थापाले लोकतान्त्रिक अभ्यासमा जनमत सर्वोपरि हुने उल्लेख गर्दै आगामी दिनमा पनि बाजुराको विकास र जनताको हितका लागि दृढतापूर्वक काम गरिरहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यसैबीच उनले प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार जनक राज गिरीलाई हार्दिक बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन् ।





प्रतिक्रिया