गाैमुल खबर डटकम शुक्रबार १५, फागुन २०८२ ०५:०४

शिक्षण-सिकाइ प्रभावकारी बनाउन बाजुरामा शिक्षकका लागि प्रशिक्षण तालिम सञ्चालन

गाैमुल खबर गाैमुल खबर
बिहीबार, फागुन १४, २०८२
शिक्षण-सिकाइ प्रभावकारी बनाउन बाजुरामा शिक्षकका लागि प्रशिक्षण तालिम सञ्चालन

बाजुरा : बाजुरामा शिक्षा, युवा सशक्तीकरण र लैंगिक समानता प्रवद्र्धन गर्ने उद्देश्यले तालिन सञ्चालन गरिएको छ। सरोकारवालाले तालिमले विद्यालयको शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी बनाउने बताएका छन् । 

दुर्गम जिल्लाको शिक्षा क्षेत्रमा सुधार ल्याउने लक्ष्यसहित नोराडको आर्थिक सहयोग, प्लान इन्टरनेशनल नेपालको प्राविधिक सहयोग तथा पीसविन नेपालद्वारा तालिम सञ्चालन गरिएको हो । आभा परियोजना बाजुराका चार पालिकामा कार्यान्वयन हुँदै आएको छ ।

परियोजना त्रिवेणी नगरपालिका, गौमुल गाउँपालिका, बुढिगंगा नगरपालिका र बडिमालिका नगरपालिकाका करिब ४० वटा विद्यालयमा लागू गरिएको छ। विद्यालय सुधार योजना तालिम तथा लैंगिक रूपान्तरणित समावेशी कक्षाकोठा व्यवस्थापनसम्बन्धी तालिम सञ्चालन गरिएको हो ।

विद्यालय सुधार योजना तालिम २०८२ फागुन ५ र ६ गते सम्बन्धित पालिकाका प्रधानाध्यापक तथा विद्यालय व्यवस्थापन समिति अध्यक्षहरूको सहभागितामा सम्पन्न भएको हो।  

गौमुल गाउँपालिकाका शिक्षा शाखा प्रमुख रामनाथका अनुसार तालिम प्रभावकारी रहेको र यसले शिक्षा विकासमा सकारात्मक योगदान पु¥याउने विश्वास गरिएको छ । 

एक वर्षदेखि सञ्चालनमा रहेको परियोजनाले ३४ माध्यमिक र ६ आधारभूत विद्यालयमा गुणस्तरीय शिक्षा, युवा सशक्तीकरण, यौन तथा प्रजनन स्वास्थ्य शिक्षा र आर्थिक सशक्तीकरणका क्षेत्रमा काम गर्दै आएको छ । 

तालिमको सहजीकरण त्रिवेणी नगरपालिकामा शिक्षा शाखा प्रमुख गणेश साउद, गौमुल गाउँपालिकामा शिक्षा शाखा प्रमुख रामनाथ, बडिमालिका नगरपालिकामा शिक्षा शाखा प्रमुख रंगमल विक तथा बुढिगंगा नगरपालिकामा प्रअ रामबहादुर कटुवालले गर्नुभएको थियो। 

तालिममा विद्यालय सुधार योजनामा जलवायु परिवर्तन, विपद् जोखिम न्यूनीकरण तथा हरियाली विद्यालय अवधारणा समेटेर प्रभावकारी योजना निर्माण गर्ने विषयमा सहजीकरण गरिएको थियो। तालिममा करिब ८० जना सहभागी रहेका थिए । 

त्यसैगरी, लैंगिक रूपान्तरणित समावेशी कक्षाकोठा व्यवस्थापनसम्बन्धी तालिम २०८२ फागुन ७ देखि १० गतेसम्म सञ्चालन गरिएको थियो। तालिममा ३९ जना शिक्षक सहभागी भएका थिए। प्रशिक्षक प्रमोद न्यौपाने र जीवन गिरीले लैंगिक समानता, समावेशी शिक्षण पद्धति, कक्षाकोठा व्यवस्थापन र सिकाइमा देखिने चुनौती समाधानका विषयमा प्रशिक्षण दिएका थिए ।

पीसविन नेपालका अनुगमन तथा मूल्याङ्कन अधिकृत कुसुम शाहीका अनुसार तालिमको उद्देश्य विद्यालय तहमा लैंगिक समानताको साझा बुझाइ विकास गर्नु र समावेशी सिकाइ वातावरण निर्माण गर्नु रहेको छ ।

प्रतिक्रिया