गाैमुल खबर डटकम आइतबार १०, फागुन २०८२ १०:१९

बाजुरा-बझाङमा बुथ कब्जा हुन नदिन सुरक्षा कडाइको तयारी

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, फागुन १०, २०८२
बाजुरा-बझाङमा बुथ कब्जा हुन नदिन सुरक्षा कडाइको तयारी

बाजुरा ः सुदूरपश्चिमका बाजुरा र बझाङ जिल्लामा विगतका अधिकांश निर्वाचनमा बुथ कब्जा, फर्जी मत, झडप र धाँधलीका घटना दोहोरिँदै आएका छन्। दुवै जिल्लामा एक-एक निर्वाचन क्षेत्र रहे पनि मतदाताले शान्तिपूर्ण वातावरणमा मतदान गर्न नपाएको गुनासो गर्दै आएका छन्।

बाजुरामा २०४८ सालदेखि नै निर्वाचनका बेला विभिन्न घटना हुँदै आएका छन्। २०७९ को प्रतिनिधिसभा निर्वाचनका क्रममा झडप र हिंसात्मक घटनामा दुई युवाको ज्यान गएको थियो। मतदानका दिन ढुंगामुढा, मतदानस्थल तोडफोड, मतदाता लखेटिने तथा सुरक्षाकर्मीबाट हवाई फायरजस्ता घटना हुँदा जिल्ला दिनभर तनावग्रस्त बनेको थियो।

प्रमुख दलहरूले २४ मतदान केन्द्र कब्जा भएको दाबी गरेका थिए। त्रिवेणी नगरपालिका-६ का काँग्रेस समर्थक सञ्जीव अयडीको प्रहरीको गोली लागेर मृत्यु भएको थियो भने सोही नगरपालिका-७ का एमाले समर्थक तथा अनेरास्ववियुका केन्द्रीय सदस्य चेतन अयडीको कुटपिटबाट ज्यान गएको थियो।

घटनापछि मतगणना सुरु हुन १४ दिन लागेको थियो। त्यस्तै ०७९ कै स्थानीय तह निर्वाचनमा पनि बुढीगंगा नगरपालिकाका अधिकांश केन्द्रमा धाँधलीको आरोप लागेपछि पुनः मतदान गराइएको थियो। फर्जी मत खसाल्ने प्रवृत्ति पनि दुवै जिल्लामा समस्या बनेको छ।

२०७४ को स्थानीय तह निर्वाचनमा बाजुरामा अत्यधिक मतदान भएको थियो। बुढीगंगा नगरपालिकाका केही केन्द्रमा ९९ प्रतिशतभन्दा बढी मत खसेको तथ्यांक सार्वजनिक भएको थियो। २०७९ को निर्वाचनमा सुर्मा गाउँपालिकाका दुई मतदानस्थलमा बुथ कब्जा गरी फर्जी मत हाल्ने प्रयास भएपछि मतदान स्थगित गरिएको थियो।

बझाङमा पनि २०७९ को स्थानीय तह निर्वाचनमा जयपृथ्वी नगरपालिका-६ स्थित सुनिपीपलचौर माध्यमिक विद्यालय केन्द्रमा फर्जी मतदानको विवाद चर्किँदा मतपेटिका तोडफोड भएको र पुनः मतदान गर्नुपरेको थियो। केदारस्युँ गाउँपालिका-२ मा पनि फर्जी मत खसेको घटना सार्वजनिक भएको थियो।

स्थानीयका अनुसार केही स्थानमा कर्मचारी र सुरक्षाकर्मीसमेत मिलेमतोमा संलग्न हुने आरोप लाग्दै आएको छ।आसन्न निर्वाचनलाई लक्षित गर्दै सुरक्षा निकायले उच्च सतर्कता अपनाउने तयारी गरेको जनाएको छ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख डीआईजी ओमबहादुर रानाले दुवै जिल्लालाई उच्च सुरक्षा सूचीमा राखिएको जानकारी दिए। सुरक्षाकर्मीको संख्या वृद्धि, सीसीटीभी निगरानी, ड्रोन क्यामरा प्रयोग तथा अशक्त मतदाताको अग्रिम पहिचानजस्ता उपायबारे तयारी भइरहेको उनले बताए।

सशस्त्र प्रहरीका अधिकारीहरूले पनि बाजुरा र बझाङमा दोब्बर संख्यामा पेट्रोलिङ परिचालन गर्ने र संवेदनशील केन्द्रमा प्रविधि प्रयोग बढाउने योजना रहेको बताएका छन्। बाजुरामा ७७ मतदानस्थलमध्ये ६२ अति संवेदनशील, १२ संवेदनशील र तीन सामान्य श्रेणीमा छन्।

बझाङमा १३७ मतदानस्थलमध्ये ८५ अति संवेदनशील, ४९ संवेदनशील र तीन मात्रै सामान्य सूचीमा परेका छन्। आसन्न प्रतिनिधिसभा निर्वाचनमा बाजुराबाट आठ उम्मेदवार प्रतिस्पर्धामा छन्।

काँग्रेसका जनकराज गिरी, एमालेका लालबहादुर थापा, नेकपाका प्रकाशबहादुर शाह र रास्वपाका हेमराज थापाबीच मुख्य प्रतिस्पर्धा देखिएको छ। बझाङमा एमालेका ऐन महर, काँग्रेसका प्रकाश रसाइली स्नेही, नेकपाका मीनबहादुर कुँवर र रास्वपाका शैलेशकुमार सिंहबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ।

प्रतिक्रिया