बाजुरा : नेपाली काँग्रेस बाजुराका प्रतिनिधि सभाका उम्मेदवार जनक राज गिरीले जनताका आधारभूत आवश्यकतालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
साेमबार सदरमुकाम मार्तडीमा प्रेस युनियन जिल्ला शाखा बाजुराले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले सडक, स्वस्थ्य, बत्ती र इन्टरनेटको विकासमा आफू दृढताका साथ लाग्ने बताएका हुन् ।
बाजुराका धेरै स्थनाहरुका नागरिक हालसम्म इन्टरनेटको पुहँच बाहिर रहेका बताउँदै सबै ठाउँका नागरिकलाई फोर ‘जी’ इन्टरनेटको पुहँचमा पुर्याउने आफ्नो लक्ष्य रहेको बताए । स्थानीय तह, प्रदेश र संघबाट निर्माण भएका जति पनि ग्रामीण सडकहरु गुणस्तरीय नभएकाले उक्त सडकहरुको स्तरोन्नति गर्ने प्रतिबद्धता जाहेर गरेका छन् ।
स्वास्थ्य क्षेत्रमा टाँटे, मार्तडी र कोल्टी, यी तीनै ठाउँमा चौँबीसै घण्टा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध हुने गरी विकास गर्ने काँग्रेसको मुख्य संकल्प रहेको गिरीले बताएका छन् । गरिवी, बेरोजगार र विदेश पलायन जस्ता थुप्रै समस्याहरु हाम्रा जिल्लाका सबै भन्दा मुख्य चुनौतिहरु हुन् । यसको समाधानका लागि आफू प्रतिबद्ध भएर लाग्ने उनले भने ।
उनले भने मौरेको बुढीगंगा र मालागाडमा मोटरेबल पुल अधुरा रहेकाले तत्काल काम सुरुवात हुनुपर्छ । धेरै पहिले ठेक्का भएका पक्की पुलको निर्माण कार्य अलपत्र अवस्थामा छोडिँदा सो क्षेत्रहरु सडक सञ्चालबाट टाढिएका छन् । उक्त क्षेत्रहरुलाई सडक सञ्जालमा जोड्न ठेकेदार र सम्बन्धित निकायले तुरुन्त काम अगाडी बढाउँनु पर्छ ।
कर्णाली, मार्तडी–कोल्टी सम्मको सडकको कालाेपत्रे काम अधुरो रहेकाले यसको पनि यथाशिघ्र काम सम्पन्न गराउन र कर्णाली करिडोरलाई अझै स्तरोन्नति गर्ने कुरामा ध्यान केन्द्रीत हुने गिरीले बताएका छन् ।
त्यस्तै बाजुराको बेराजगार दर घटाउन व्यवसायी तालिम दिने, जडीबुटीको प्रशोधन गर्ने, खेर गईरहेका काठलाई प्रयोगमा ल्याएर स्वरोजगार सिर्जना गर्ने लक्ष्य रहेको बताए । बडीमालिका, बुढीन्नदा, रानीसैन, खप्तड छेडेदह, कालाजाग्रा जस्ता धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धन र विकासमा जोड दिने उनको भनाई छ ।
सहज यातायातका लागि अधुरो रहेको सेती लोकमार्ग पूरा गराउने तर्फ ध्यान जाने बताउँदै किलोवाटमा उत्पादित विजुलीलाई राष्ट्रिय प्रसारण लाइनमा जाडेर गाउँमै स–साना उद्योगहरु सञ्चालन गरी रोजगारी सिर्जना गर्ने लक्ष्य रहेको गिरीले बताएका छन् ।





प्रतिक्रिया