गाैमुल खबर डटकम शनिबार २४, माघ २०८२ ०४:३०

मार्तडीमा प्रदेश स्तरीय लागू औषध विरुद्धको अभियान सम्पन्न, युवालाई सचेत बनाउन एकदिने अभिमुखीकरण कार्यक्रम

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, माघ २३, २०८२
मार्तडीमा प्रदेश स्तरीय लागू औषध विरुद्धको अभियान सम्पन्न, युवालाई सचेत बनाउन एकदिने अभिमुखीकरण कार्यक्रम

बाजुरा ःसुदूरपश्चिम प्रदेशमा बढ्दो लागूऔषध दुरुपयोग विरुद्ध सचेतना फैलाउने उद्देश्यले बाजुराको सदरमुकाम मार्तडीमा एकदिने प्रदेश स्तरीय अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेश युवा परिषदको आयोजनामा तथा मार्तडीस्थित मालिका माध्यमिक विद्यालयको सहकार्यमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।

लागूऔषध दुरुपयोगका कारण विशेषगरी युवा वर्गमा देखिँदै आएका सामाजिक, मानसिक तथा स्वास्थ्यसम्बन्धी समस्याप्रति सरोकारवाला निकायलाई जागरुक गराउने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको सुदूरपश्चिम प्रदेश युवा परिषदका कार्यकारी उपाध्यक्ष गजेन्द्र सावदले जानकारी दिएका छन् ।

उनले लागूऔषधले व्यक्तिगत जीवन मात्र होइन, समाज र राष्ट्रकै भविष्यलाई असर पार्ने भएकाले यसविरुद्ध सबै पक्ष एकजुट हुन आवश्यक रहेको बताएका छन् ।

कार्यक्रममा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमर खड्काले लागूऔषध दुरुपयोग नियन्त्रणका लागि स्थानीय तह, विद्यालय, अभिभावक र सुरक्षा निकायबीच सहकार्य अपरिहार्य रहेको उल्लेख गरेका छन् ।

साथै उनले युवालाई सिर्जनशील र सकारात्मक गतिविधिमा संलग्न गराउन स्थानीय सरकारले आवश्यक कार्यक्रम अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

त्यसैगरी सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मण पुडासैनी, जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भाट लगायतले लागूऔषध नियन्त्रणमा कानुनी व्यवस्था, सामाजिक जिम्मेवारी तथा सचेतनाको भूमिकाबारे धारणा राखेका थिए ।

कार्यक्रममा मालिका माध्यमिक विद्यालयका सहायक प्रधानाध्यापक धीरबहादुर दानी, नेपाल पत्रकार महासंघ बाजुरा शाखाका उपाध्यक्ष रमित विक सहित विभिन्न सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

कार्यक्रमको अवसरमा मालिका माध्यमिक विद्यालय र क्रिएटर जोन एकेडेमीका विद्यार्थीहरुले लागूऔषध विरुद्ध जनचेतना फैलाउने उद्देश्यले बजार परिक्रमा गरेका थिए ।

विद्यार्थीहरुको सक्रिय सहभागितासँगै औपचारिक कार्यक्रम सम्पन्न गरिएको थियो । आयोजकका अनुसार यस्ता कार्यक्रमले युवालाई लागूऔषधको दुष्परिणामबारे सचेत गराउनुका साथै समाजमा सकारात्मक सन्देश प्रवाह गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया