धनगढी ः सुदूरपश्चिम प्रदेशमा चुनावी सुरक्षाका लागि सात हजार बढी प्रहरी परिचालन गरिने भएका छन् । २१ फागुनमा हुने निर्वाचनका प्रदेश प्रहरी कार्यालय धनगढीले सुरक्षा चुनाैती विश्लेषण गर्दै साेहीअनुसार प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिने जनाएको छ ।
प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले निर्वाचनका लागि सात हजार ५८ जना प्रहरी परिचालन गरिने जानकारी दिए । उनकाअनुसार प्रहरीसँगै निर्वाचन प्रहरी समेत सहयाेगी भूमिकामा खटिनेछ ।
९ वटै जिल्लामा १३ हजार ६६९ जना निर्वाचन प्रहरीलाई खटाइने एसएसपी विष्टले बताए । सशस्त्र प्रहरीतर्फ भने एक हजार ५१९ निर्वाचन प्रहरी रहनेछन् । २१ फागुनमा हुने निर्वाचनका लागि सुदूरपश्चिममा १७ लाख १६ हजार ६७५ मतदाता रहेका छन्।
उनीहरू मध्ये आठ लाख ६४ हजार ४२३ महिला र आठ लाख ५२ हजार २१९ पुरूष मतदाता रहेकाे प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
मतदान स्थलकाे वर्गीकरणअनुसार सुरक्षा
सुदूरपश्चिम प्रदेशले सुरक्षा संवेदनशीलताका आधारमा मतदान स्थलकाे वर्गीकरण गर्दै साेहीअनुसार व्यवस्था मिलाइएकाे जनाएको छ ।
प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विष्टका अनुसार सुदूरपश्चिममा एक हजार १७६ मतदान स्थल र दुई हजार १९९ मतदान केन्द्र रहेका छन् । ती मध्ये मतदान स्थल ३०० सामान्य, ३९५ संवेदनशील र ४८१ अतिसंवेदनशीलकाे सूचीमा राखिएको छ ।
यस्तै मतदान केन्द्रतर्फ ४५६ सामान्य, ७५७ संवेदनशील र ९८६ अतिसंवेदनशीलकाे सूचीमा छन् । सामान्यमा मतदान केन्द्रमा ५ जना, संवेदनशीलमा ६ जना र अतिसंवेदनशीलमा १० जना प्रहरी परिचालन हुनेछन् ।
मतदान स्थलकाे भित्री सुरक्षामा उनीहरू परिचालन भएपनि बाहिरी सुरक्षामा भने थप प्रहरी खटाइने एसएसपी विष्टले बताए । सुदूरपश्चिम प्रदेशमा याेपटक २४ राजनीतिक दलले निर्वाचनमा भाग लिएका छन् ।
चार जिल्लामा विशेष सुरक्षा
प्रहरीले सुदूरपश्चिमका चार जिल्लालाई अतिसंवेदनशीलकाे सूचीमा राख्दै विशेष सुरक्षा व्यवस्था मिलाएकाे छ ।विगतका निर्वाचनमा भएका घटना लगायतका आधारमा बाजुरा, बझाङ, अछाम र दार्चुलालाई अतिसंदेनशीलकाे सूचीमा राखेकाे छ ।
यी जिल्लाका मतदान स्थल र मतदान केन्द्रमा विशेष सुरक्षा व्यवस्था मिलाइएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । यसैबीच, सुदूरपश्चिम प्रदेशकाे चुनाव केन्द्रीत सुरक्षा अवस्थाकाे विश्लेषणका लागि एआईजी हिमालय श्रेष्ठ नेतृत्वकाे विशेष टाेली धनगढी पुगेकाे छ ।
प्रहरी प्रधान कार्यालयले श्रेष्ठकाेप नेतृत्वमा पठाएको टाेली आइतबार धनगढी पुगेकाे छ । उक्त टाेलीले प्रदेशकाे सुरक्षा अवस्थाकाे विश्लेषण गर्दै जनशक्ति परिचालन लगायतका विषयमा अध्ययन गर्नेछ





प्रतिक्रिया