बाजुरा ः सुदूरपश्चिम प्रदेशको बाजुरा सहित विभिन्न पहाडी जिल्लामा शुक्रबार बेलुकादेखि हिमपातसँगै हिउँदे वर्षा भएको छ । लामो समयदेखि वर्षा नहुँदा खडेरीको मारमा परेका किसानका लागि यो वर्षा राहतको रूपमा आएको छ ।
बाजुराका उच्च लेकाली भेग, हिमाली क्षेत्र तथा आसपासका पहाडी क्षेत्रमा व्यापक हिमपात भएको स्थानीयले बताएका छन् । यस वर्ष पहिलो पटक भएको हिउँदे वर्षा र हिमपातले गहुँ, जौ लगायतका हिउँदे बाली सप्रिने आशा बढाएको छ ।
गत चार महिनादेखि पर्याप्त वर्षा नहुँदा खेतबारी सुक्दै गएका थिए भने बाली उत्पादनमा असर पर्ने चिन्ता किसानहरूमा बढ्दै गएको थियो । तर अहिले परेको वर्षा र हिमपातले जमिनमा चिस्यान बढ्नुका साथै बालीलाई फाइदा पुग्ने किसानहरूको विश्वास छ ।
यता, हिमपातका कारण अत्यधिक चिसो बढेको छ । चिसोबाट बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगी बढी प्रभावित हुन सक्ने भन्दै स्वास्थ्यकर्मीहरूले न्यानो कपडा लगाउन, आगो ताप्दा सतर्कता अपनाउन र आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् । हिउँदे वर्षा र हिमपातले एकातिर जनजीवन प्रभावित भए पनि कृषि क्षेत्रका लागि भने सकारात्मक संकेत देखिएको छ ।




प्रतिक्रिया