बाजुरा ः पश्चिमी वायुको प्रभावले आज पश्चिम नेपालका भूभागमा पानी पर्ने र उच्च पहाडी तथा हिमाली भेगमा हिउँ पर्ने मौसमविदले बताएका छन् । सुदूरपश्चिमदेखि गण्डकीसम्म मध्यम वर्षा हुने सम्भावना छ भने बागमती र कोशीका केही ठाउँमा हल्का वर्षाको प्रक्षेपण छ।
जल तथा मौसम विज्ञान विभागका मौसमविद डेभिड ढकालका अनुसार माघ ९ गते शुक्रबार दिउँसोदेखि पश्चिम नेपालबाट बादल लाग्न सुरु गर्ने छ । त्यसपछि आज साँझपख सुदूरपश्चिम क्षेत्रका थोरै स्थानमा हल्का वर्षा सुरु हुने छ । लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जनसहित मध्यम वर्षा हुने उनले जानकारी दिए ।
साथै गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकरदुई स्थानमा मेघ गर्जनसहित असिना पर्ने सम्भावना पनि रहेको ढकालले बताए । शुक्रबार राति भने देशैभरका उच्च पहाडी तथा हिमाली भू-भागका केही ठाउँमा मध्यमसम्म हिमपातको सम्भावना छ । शुक्रबारको तुलनामा शनिबार मौसममा केही सुधार हुनेछ ।
तर बदलीको असर देशभर देखिने र चिसो बढ्ने भएकाले स्वास्थ्यको ख्याल गर्न मौसमविदले सुझाव दिएका छन् । साथै वर्षा र हिमपातले जनजीवन, पर्यटन, स्वास्थ्य साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन पनि सुझाव दिएका छन् । यो यस वर्षको हिउँदयामको पहिलो माघे झरी हो । लामो खडेरीपछिको वर्षा र हिमपातले बालीनालीलाई फाइदा हुने कृषिविज्ञहरु बताउँछन् ।




प्रतिक्रिया