बाजुरा : गौमुल गाउँपालिका–४ कालादहस्थित कीर्तिचौर माध्यमिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारलाई केन्द्रमा राखी एकदिने अन्तर विद्यालय स्तरीय अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने भएको छ । उक्त कार्यक्रम वडा अध्यक्ष तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष अमर विकको स्पष्ट दृष्टिकोण, दृढ इच्छाशक्ति र नेतृत्व क्षमताको प्रतिफल स्वरुप आयोजना हुन लागेको हो ।
वडा अध्यक्ष विकले शिक्षा क्षेत्रलाई वडाको दीर्घकालीन विकासको मेरुदण्डका रूपमा लिँदै विद्यालय सुधार, शैक्षिक गुणस्तर अभिवृद्धि र अनुभव आदान–प्रदानलाई प्राथमिकतामा राख्दै निरन्तर पहल गर्दै आउनु भएको छ । उहाँकै पहलमा विद्यालय व्यवस्थापन समितिले आगामी माघ ११ गते आइतबार कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो ।
विद्यालय व्यवस्थापन समितिको निर्णय अनुसार कार्यक्रमको तयारी तीव्र रूपमा अगाडी बढाइएको निमित्त प्रधानाध्यापक मानबहादुर बडुवालले जानकारी दिनुभयो ।
कीर्तिचौर माध्यमिक विद्यालयको आयोजनामा हुने कार्यक्रममा वडा नम्बर ४,५ र ६ नम्बरका अन्तर विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरु, शिक्षक अभिभावक संघका अध्यक्षहरु तथा प्रधानाध्यापकहरुको सहभागिता रहनेछ । कार्यक्रममा विद्यालय सञ्चालनका असल अभ्यास, शैक्षिक सुधारका चुनौती, व्यवस्थापनका अनुभव तथा गुणस्तरीय शिक्षाका उपायहरूका विषयमा गहन छलफल गरिनेछ ।
सीमित स्रोत–साधनका बाबजुद पनि जनताका बढ्दो शैक्षिक अपेक्षालाई सम्बोधन गर्ने दृढ संकल्प सहित वडा अध्यक्ष अमर विकले नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएको छ । उहाँको यहीँ जवाफदेही नेतृत्व, शिक्षा प्रतिको प्रतिबद्धता र परिवर्तन प्रतिको हुटहुटीका कारण कार्यक्रम सम्भव भएको स्थानीयले बताएका छन् ।
उक्त अन्तरक्रिया कार्यक्रमले वडामा शैक्षिक सुधारको नयाँ दिशा तय गर्ने, विद्यालयहरूबीच सहकार्य मजबुत बनाउने र दीर्घकालीन सुधारका लागि ठोस आधार तयार गर्ने विश्वास लिइएको छ । कार्यक्रमको सहजीकरण गौमुल गाउँपालिका शिक्षा शाखा युवा तथा खेलकुद शाखा र कीर्तिचौर माविले गर्ने भएको छ ।





प्रतिक्रिया