बाजुरा : गौमुल गाउँपालिका २ मल्लोदुगुनस्थित कुहुडामा आगलागीबाट एक घर जलेर नष्ट भएको पीडित परिवारलाई वडा कार्यालयले राहत दिएको छ । आइतबार विहान ६ बजे विद्युतको तार सर्ट भई आगलागी हुँदा स्थानीय विष्णु रोकायाको घर पूर्ण रुपमा जलेर नष्ट भएको थियो ।
पीडित रोकायाको परिवारलाई वडा कार्यालयले २ वटा त्रिपाल, ४ मिटर पीफम, कमल, जुट, २ वटा वाल्टिन, १ कट्टा चामल, १ पोका तेलसहित आवश्यक राहत सामाग्री दिईएको वडाध्यक्ष देव बहादुर रोकायाले बताएका छन् ।
वडा सदस्य देव बोहराको टोली पीडितको घरमै पुगेर राहत वितरण गरेको उनले बताए । आवश्यक जाँच बुझ र क्षतिको एकीन वितरण संकलनका लागि ईलाका प्रहरी कार्यालय गौमुलबाट प्रहरी टोली समेत घटनास्थलमा पुगेको थियो ।
आगलागीबाट २० लाख भन्दा बढीको क्षति भएको छ । वडाध्यक्ष रोकायाले पीडित परिवारलाई राहत वितरण गरी हाल छिमेकीको खाली घरमा बस्ने व्यवस्थापन गरिएको र पुनःस्थापनका लागि सम्बन्धित निकायमा पहल भईरहेको बताए ।




प्रतिक्रिया