कपिलवस्तु ःकहिलेकाहीँ सामान्य मोबाइल, केही सेकेन्डको भिडियो र अनायासै फुरेको एक वाक्यले कसैको जीवनको दिशा मोडिदिन्छ । नवराज रेग्मीका लागि पनि त्यस्तै भयो । ‘सागर, बसन्ते, किस्ने…’ अर्थात्, सम्झिने नाम उही- नवराज । सामाजिक सञ्जालमा ‘भाइरल ब्वाई’ भनेर चिनिएका नवराज फेरि एकपटक चर्चामा छन् ।
यसपटक उनी टिकटकका लागि मात्र होइन, निर्वाचन प्रहरी बन्ने सपनासहित अघि बढेका छन् । तीन वर्षअघि टिकटकमा भाइरल एउटा भिडियोले उनलाई लाखौंको नजरमा पुर्यायो । आज भने उही भाइरल पात्रले निर्वाचन प्रहरीका लागि आवेदन दर्ता गराइसकेका छन् ।
टिकटकमा राखिएको 'सागर, बसन्ते, किस्ने किन ड्राउँछस्, फेरि तेरो दाइ मिदी हुन पर्सि आवेदन दिन जाँदै छ क्या' भन्ने भिडियोले उनी फेरि युवामाझ ट्रेन्डिङ बनेका छन् । मुलुकभर यतिबेला निर्वाचन प्रहरी भर्ना अभियान चलिरहेको छ । कपिलवस्तुको वाणगंगा नगरपालिका-३, झुगागाउँका १९ वर्षे युवा हुन् नवराज ।
०७९ वैशाखमा भएको स्थानीय निर्वाचनका बेला उनले म्यादी प्रहरी (अहिले निर्वाचन प्रहरी) को 'ड्रेस'मा बनाएको टिकटक एकाएक भाइरल बनेको थियो । त्यो भिडियोले उनलाई जति चिनायो, पीडादायी क्षण पनि गुजार्नुपर्यो । टिकटककै कारण उनी ९ दिन प्रहरी हिरासतमा बसेका थिए ।
म्यादी प्रहरीमा भर्ना भएका मामाको पोसाक लगाएर उनले भिडियो बनाएका थिए । जहाँ उनले भनेका थिए, 'सागर, बसन्ते, किस्ने... सबहरू नड्रा क्या... तेरो दाइ मिदी भइसक्या छ नि त !' सँगै उनले अरु अमर्यादित भाषा पनि बोलेका थिए । शिष्ट भाषा नबोलेको, प्रहरीको मर्यादा नराखेको र धुम्रपान गर्न उक्साएको आरोपमा उनीविरुद्ध प्रहरीले सार्वजनिक अपराध र अभद्र व्यवहार मुद्दा चलाएको थियो ।
त्यतिबेला उनी १६ वर्षका थिए । 'टिकटकमा भाइरल हुनुपर्छ भन्ने लागेर भिडियो बनाएँ । तर त्यस्तो शब्द प्रयोग गर्न र भिडियो बनाउन हुन्न भन्ने ज्ञान पछि मात्रै भयो,' उनी त्यस घटनाप्रति पछुतो मान्छन् । ९ दिन प्रहरी हिरासतमा बस्नुपरेको र तीन महिना तारेख धाएको उनले बताए ।
अदालतबाट सफाइ पाएर निस्केपछि आफू सचेत भएको र धेरै ज्ञान पनि लिएको नवराज सुनाउँछन् । खासमा म्यादी प्रहरी भर्ना हुन नपाउँदाको उनको रहर रहेछ त्यो । किनकि त्यसबेला भर्ना हुन उनको उमेर पुगेको थिएन । उनले बिहीबार सदरमुकाम तौलिहवास्थित जिल्ला प्रहरी कार्यालयमा निर्वाचन प्रहरीका लागि आवेदन दिएका छन् ।
यहीबेला उही शैलीमा बनाइएको टिकटक भाइरल बनेको छ । 'अगाडिको प्रक्रियामा सफल हुन्छु हुँदैन थाहा छैन,' उनी हाँस्दै भन्छन्, 'आवेदन गर्न जाँदा पनि प्रहरीहरूले पनि चिन्नुभयो ।' नवराज सामान्य परिवारका हुन् । उनीहरु ३ दाजुभाइ र ३ दिदीबहिनी छन् । दिदीबहिनीको बिहे भइसकेको छ । उनी माइलो हुन् ।
दाजु र भाइ अध्ययनका लागि काठमाडौं बस्छन् । गजेहडास्थित वाणगंगा मावि सिद्धिपुरबाट एसईई गरेका नवराज अहिले काठमाडौंस्थित मोर्गन इन्टरनेसनल कजेल, बसुन्धराबाट होटल म्यानेजमेन्ट (एचएम) मा कक्षा १२ अध्ययरत छन् ।अध्ययनका लागि खर्च जुटाउन नवराजले राजधानीमा राइड सेयरिङ सेवा पनि दिए ।
एचएम अध्ययन गर्दा तीन महिना होटल याक एन्ड यतीमा ३ महिना इन्टर्नसिप गरे । 'इच्छा र रुचि त भ्लगिङ गर्ने हो । तर, पैसा नहुँदा आफ्नो रुचि पूरा गर्न सकेको छैन,' उनी भन्छन्, 'निर्वाचन प्रहरीमा भर्ना भएँ भने एउटा राम्रो मोबाइल र ल्यापटप किन्छु अनि कन्टेन्ट क्रिएटर बन्छु ।
भ्लग बनाउँछु ।' टिकटकको केही सेकेन्डले उनलाई देशभर चिनायो । नवराज उही शैलीको भाइरल संवाद बोकेर फेरि राज्यकै सेवाका लागि आवेदन दिन पुगेका छन् । भर्ना भए भने यसपटक उधारो ड्रेस होइन, जिम्मेवारी सहित निर्वाचन प्रहरीको नयाँ ड्रेस सहित उनी खटिनेछन् । मनोज पौडेलले कपिलबस्तुबाट कान्तिपुर दैनिकमा लेखेको समाचार साभार गरिएको हो ।





प्रतिक्रिया