धनगढी ः बडीमालिका र रामारोशन वन क्षेत्रलाई दीगो रूपमा संरक्षण गर्दै स्थानीय समुदायको सक्रिय सहभागिता सुनिश्चित गर्ने विषयमा प्रदेशस्तरीय छलफल भएको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मंगलबार धनगढीमा बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्रका सन्दर्भमा कार्यक्रम गरेको हो ।
कार्यक्रमका सहभागीहरुले वन क्षेत्रको संरक्षण, पर्यटन विकास र स्थानीय जीवनयापनबीच सन्तुलन कायम गर्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले बडीमालिका र रामारोशन क्षेत्र जैविक विविधता, धार्मिक आस्था र प्राकृतिक सौन्दर्यले भरिपूर्ण भए पनि पूर्वाधार अभावको समस्या रहेको बताए ।
मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाको सभापतित्वमा भएको छलफलका कार्यक्रमका प्रमुख अतिथि सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह थिए । मुख्यमन्त्री शाहले प्रदेश सरकार बडीमालिका र रामारोशन वन क्षेत्रको संरक्षण र विकासलाई सँगसँगै लैजान प्रतिबद्ध रहेको बताउँदै स्थानीय तह, समुदाय र निजी क्षेत्रको सहकार्यमा पर्यटन पूर्वाधार विकास गरिने बताए ।
उनले धार्मिक तथा पर्यटकीय सम्भावना बोकेका क्षेत्रलाई प्रदेशको आर्थिक समृद्धिसँग जोड्न सकिने उल्लेख गरे । छलफलमा प्रदेश सांसद झपट साउँद, नरेशकुमार शाही, अक्कल रावल, पदमबहादुर शाही, बडीमालिका नगरपालिका बाजुराका नगर प्रमुख अमर खड्का, रामारोशन गाउँपालिका अछामका अध्यक्ष मानबहादुर साउँद, त्रिवेणी नगरपालिकाका उपप्रमुख कमलाकुमारी जैसी, राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका वरिष्ठ अधिकृत लक्ष्मिराज जोशी तथा पर्यटन व्यवसायी पदमबहादुर सिंह लगायतकाले धारणा राखेका थिए ।
यस्तै, बडीमालिका-रामारोशन वन संरक्षण क्षेत्रको सम्भाव्यता अध्ययन गर्न प्रदेश वन निर्देशक हेमराज विष्टको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरिएको छ ।
समितिमा वरिष्ठ भू-तथा जलाधार अधिकृत डा. किशोर अर्याल, राष्ट्रिय प्रकृति संरक्षण कोष शुक्लाफाँटाका वरिष्ठ अधिकृत लक्ष्मिराज जोशी, पर्यटन व्यवसायी पदमबहादुर सिंह, बडीमालिका नगरपालिका बाजुराका नगर प्रमुख अमर खड्का, रामारोशन गाउँपालिका अछामका अध्यक्ष मानबहादुर साउँद र त्रिवेणी नगरपालिका प्रमुख कर्णबहादुर थापा सदस्यका रहेका छन् ।





प्रतिक्रिया