गाैमुल खबर डटकम बिहीबार २४, पुष २०८२ ०२:५८

गौमुल गाउँपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको चौथो चरण सञ्चालन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, पुष २२, २०८२
गौमुल गाउँपालिकामा सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको चौथो चरण सञ्चालन

बाजुरा ःवैदेशिक रोजगारीलाई सुरक्षित, व्यवस्थित र उपलब्धिमूलक बनाउने उद्देश्यका साथ सञ्चालित सुरक्षित आप्रवासन परियोजना (सामी) कार्यक्रमको चौथो चरण गौमुल गाउँपालिकामा सञ्चालनमा आएको छ ।

संघीय सरकार र स्वीस सरकारबीच भएको द्विपक्षीय सम्झौता अन्तर्गत हेल्भेटास-स्वीस इन्टर अपरेसनको प्राविधिक सहयोगमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयद्वारा सञ्चालन गरिएको ‘सुरक्षित आप्रवासन (सामी)’ परियोजना गाउँपालिकामा लागू गरिएको हो ।

पालिकाभित्र परियोजना सञ्चालन भएसँगै वैदेशिक रोजगारीमा गएका, फर्किएका तथा जाने तयारीमा रहेका व्यक्ति र उनीहरूका परिवारका सदस्यहरु प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ ।

परियोजनाले वैदेशिक रोजगारीमा जाने क्रममा, गन्तव्य मुलुकमा कार्यरत अवस्थामा तथा कामदारको मृत्यु पश्चात उद्धार, राहत, कानुनी सहायता र क्षतिपूर्ति प्रक्रियामा सहजीकरण गर्दै आएको छ ।

कार्यक्रममा गौमुल गाउँपालिकाका कार्यबाहक अध्यक्ष प्रकाश रोकायाले वैदेशिक रोजगारीमा गएकाहरुका लागि उद्धार, राहत र पीडितलाई न्याय दिलाउन राज्यस्तरबाट अझ प्रभावकारी रणनीति आवश्यक रहेको बताए ।उनले सुरक्षित रोजगारी सुनिश्चित गर्न सामी कार्यक्रम प्रभावकारी रहेको उल्लेख गरे ।

त्यसैगरी वडा अध्यक्ष अमर विकले स्थानीय सरकारले सामी कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्दै वैदेशिक रोजगारीमा जान लागेका तथा गएकाहरूलाई लाभ पुग्ने विश्वास व्यक्त गरे । उनले स्थानीय स्रोत साधनको अधिकतम उपयोग गर्दै साना तथा घरेलु उद्यम, तरकारी खेती, पशुपालन र कृषि क्षेत्रमा सरकारले लगानी गरिरहेको जानकारी पनि दिए ।

कार्यक्रमको उद्देश्य र गतिविधिबारे सुरक्षित आप्रवासन परियोजना (सामी) की कार्यक्रम अधिकृत लक्ष्मी चौधरीले जानकारी गराएकी थिइन् । गाउँपालिकाको सभाहलमा सम्पन्न कार्यक्रमको सञ्चालन रोजगार संयोजक सिर्जना विष्टले गरेकी थिइन् ।

कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, रेडियो गौमुल स्टेशनका प्रबन्धक रमित वि‍क, शाखा प्रमुखहरु लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया