गाैमुल खबर डटकम मङ्गलबार २२, पुष २०८२ ०८:४६

प्रतिनिधि सभा निर्वाचनका लागि नरेश कुमार रोकाया सहित ११ जनाको नाम केन्द्रमा सिफारिस

बाजुरा एमालेमा उम्मेदवार छनोटमा सहमति भएन,
बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष २१, २०८२
प्रतिनिधि सभा निर्वाचनका लागि नरेश कुमार रोकाया सहित ११ जनाको नाम केन्द्रमा सिफारिस

बाजुरा ः आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि बाजुराबाट नेकपा (एमाले) का ११ जना आकांक्षी उम्मेदवारको नाम केन्द्रमा सिफारिस गरिएको छ । एमाले बाजुरा जिल्लामा उम्मेदवार छनोटको विषयमा सहमति जुट्न नसकेपछि सबै आकांक्षी नेताहरूको नाम सिफारिस गरेर केन्द्रमा पठाइएको हो ।

सिफारिस सूचीमा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका अनुभवी नेतादेखि नयाँ पुस्ताका उदाउँदा नेतासम्म समेटिएका छन् । सिफारिस गरिएका नेताहरुमा नेकपा एमालेका केन्द्रीय सदस्य कर्णबहादुर थापा, लालबहादुर थापा, सहदेव बोगटी, नरेश कुमार रोकाया, प्रदेश कमिटी उपाध्यक्ष कालीबहादुर शाही, दयालबहादुर शाही, राधिका बोहरा, बसुन्धरा रोकाया, लोकेन्द्र बहादुर शाही, काँशी विक र रामलाल कार्की रहेका छन् ।

सिफारिस सूचीमा रहेका कर्णबहादुर थापा यसअघि २०५६, २०६४, २०७० र २०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा प्रत्यक्ष प्रतिस्पर्धा गरिसकेका अनुभवी नेता हुन् । उनी २०७४ सालमा प्रदेश सभाको समानुपातिकतर्फ पहिलो नम्बरको सूचीमा समेत परेका थिए । थापा पूर्व उद्योग मन्त्री समेत हुन् ।

यस्तै लालबहादुर थापाले २०७४ र २०७९ को निर्वाचनमा सहभागिता जनाएका छन् । २०७४ मा प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका उनी २०७९ मा भने प्रदेश सभा निर्वाचनमा पराजित भएका थिए । उनी पूर्व जिल्ला विकास समितिका सभापति पनि हुन् ।

दयालबहादुर शाही विघटित प्रतिनिधि सभाका समानुपातिक सांसद हुन् भने यसअघि एमाले केन्द्रीय सदस्यसमेत रहिसकेका नेता हुन् । कालीबहादुर शाही हाल जगन्नाथ गाउँपालिकाको दोस्रो कार्यकालका अध्यक्षका रूपमा कार्यरत छन् । बसुन्धरा रोकाया २०६४ सालको संविधान सभा सदस्य रहेकी नेतृ हुन् ।

नरेश कुमार रोकाया भने युवा पुस्ताका प्रतिनिधि नेता हुन् । उनी हालसम्म कुनै पनि निर्वाचनमा उम्मेदवार बनेका छैनन् । विद्यार्थी राजनीतिबाट उदाएका रोकाया नेकपा एमालेको ११ औँ महाधिवेशनबाट युवा क्लस्टरको खुला केन्द्रीय सदस्यमा सर्वसम्मत चयन भएका थिए । सामाजिक सञ्जालमार्फत युवा पुस्ताले उनीप्रति भरोसा र समर्थन व्यक्त गरिरहेको देखिन्छ ।

यसैगरी सहदेव बोगटीले २०७० सालमा तत्कालीन नेकपा माओवादी केन्द्रबाट निर्वाचन लडेका थिए । एमाले प्रवेशपछि भने उनले कुनै निर्वाचनमा सहभागिता जनाएका छैनन् । काँशी विक पार्टीको जिल्ला कमिटी सचिव हुन् । राधिका बोहरा एमालेकी पुरानी नेतृका रूपमा परिचित छन् भने लोकेन्द्र बहादुर शाही तत्कालीन माले पृष्ठभूमिबाट एमालेमा आएका नेता हुन् ।

रामलाल कार्की पनि एमालेका अनुभवी नेता हुन् र हाल प्रदेश कमिटी सदस्यका रुपमा क्रियाशील छन् । अब नेकपा एमाले केन्द्रले सिफारिस सूचीका आधारमा छलफल गरी बाजुराबाट प्रतिनिधि सभा निर्वाचनका लागि अन्तिम उम्मेदवार टुंगो लगाउने जनाएको छ ।
 

प्रतिक्रिया