गाैमुल खबर डटकम बिहीबार १७, पुष २०८२ ०९:०७

अनाईखोला पक्की पुलको मन्त्री पालद्वारा उद्घाटन, आजदेखि नियमित यातायात सञ्चालन

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, पुष १७, २०८२
अनाईखोला पक्की पुलको मन्त्री पालद्वारा उद्घाटन, आजदेखि नियमित यातायात सञ्चालन

बाजुरा ः मार्तडी-कोल्टी सडकखण्ड अन्तर्गत बडीमालिका नगरपालिका-७ र ८ को सिमानामा पर्ने अनाई खोलामा निर्माण गरिएको पक्की पुलको औपचारिक उद्घाटन गरिएको छ ।

सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र बहादुर पालले एक विशेष कार्यक्रमका बीच पुलको उद्घाटन गरेका हुन् । ठेक्का सम्झौता भएको करिब दुई वर्षपछि पुलको निर्माण कार्य सम्पन्न भएसँगै आजदेखि सो सडकखण्डमा नियमित सवारी साधन सञ्चालनमा आएको छ ।

गत असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि वर्षायाममा निर्माण सामग्री ढुवानीमा समस्या हुँदा काममा ढिलाइ भएको निर्माण कम्पनीले जनाएको छ ।

पुल निर्माणका लागि २०८० मंसिर २९ गते ठेक्का सम्झौता गरिएको थियो । ५ करोड ३४ लाख १० हजार ९१८ रुपैयाँ लागतमा आईएस पावर अफ जेभी निर्माण कम्पनीले पुल निर्माणको जिम्मा लिएको थियो ।

भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतको बजेटबाट पुल निर्माण गरिएको भौतिक पूर्वाधार कार्यालय अछामले जनाएको छ । स्थानीयबासीहरूले पुल निर्माणपछि वर्षायाममा हुने आवतजावतको समस्या समाधान हुने, स्वास्थ्य, शिक्षा लगायतका सेवासुविधामा पहुँच बढ्ने र स्थानीय उत्पादन बजारसम्म सहज रूपमा पुर्याउन सकिने अपेक्षा व्यक्त गरेका छन् ।

उद्घाटन कार्यक्रममा प्रदेश सांसद पदम बहादुर शाही, जिल्ला समन्वय समितिका प्रमुख तुलसीराम रोकाया, बडीमालिका नगरपालिकाका प्रमुख अमर खड्का, प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौला, राजनीतिक दलका प्रतिनिधि तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।
 

प्रतिक्रिया