बाजुरा ः सरकारले देशका विभिन्न नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ। शुक्रबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
निर्णयअनुसार सुदूरपश्चिम प्रदेशको बाजुरा जिल्लाको कोल्टी, बैतडीको मेलौली, डोटीको विपीनगर र दार्चुलाको गोकुलेश्वरमा इलाका प्रशासन कार्यालय स्थापना गरिने भएको छ ।
यस्तै कोशी प्रदेशको ताप्लेजुङको सिरिजंगा र संखुवासभाको हिदानागढी, कर्णाली प्रदेशको डोल्पाको धो, मुगुको खत्याड तथा कालिकोटको रास्कोटमा समेत इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरिएको छ ।
बाजुराको कोल्टी क्षेत्रमा इलाका प्रशासन कार्यालय स्थापना गर्न स्थानीय बासिन्दाले लामो समयदेखि माग गर्दै आएका थिए । निरन्तर प्रयासपछि सरकारबाट सकारात्मक निर्णय आएपछि स्थानीयबासी खुसी भएका छन् ।
इलाका प्रशासन कार्यालय स्थापना भएपछि त्यस क्षेत्रका बासिन्दाले नागरिकता, प्रमाणपत्र लगायतका अत्यावश्यक प्रशासनिक सेवाका लागि सदरमुकामसम्म लामो यात्रा गर्नुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । यसले सेवा प्रवाह सहज भई स्थानीय स्तरमै प्रशासनिक पहुँच विस्तार हुने विश्वास लिइएको छ ।





प्रतिक्रिया