गाैमुल खबर डटकम शुक्रबार ११, पुष २०८२ ०५:५२

भुवा-चाली प्रतियोगितामा बाजुरेली सेवा समाज प्रथम

गाैमुल खबर गाैमुल खबर
सोमबार, पुष ०७, २०८२
भुवा-चाली प्रतियोगितामा बाजुरेली सेवा समाज प्रथम

कैलालीको धनगढीस्थित दशरथचन्द रंगशालामा सम्पन्न भुवाचाली खेल प्रतियोगितामा आयोजक संस्था बाजुरेली सेवा समाज प्रथम भएको छ। सुदूरपश्चिम खेलकुद परिषद् र नेपाल प्रज्ञा प्रतिष्ठानको प्रवर्द्धन तथा बाजुरा सेवा समाजको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा बाजुरेली सेवा समाजले प्रथम स्थान हासिल गर्दै ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गरेको हो।

आयोजकका अनुसार धनगढी वडा नम्बर १२ स्थित शर्मा देवी मन्दिर व्यवस्थापन समिति द्वितीय हुँदै ३० हजार रुपैयाँ प्राप्त गर्न सफल भयो भने बाजुरा–अछाम भुवा समिति समूह तृतीय स्थानमा रहँदै २० हजार रुपैयाँ पुरस्कार हात पार्न सफल भयो। त्यस्तै, सान्तवना विजेता बढी मालिका एकता समाज कञ्चनपुरले १५ हजार रुपैयाँ प्राप्त गरेको छ।

प्रतियोगितामा कुल नौ टिमको सहभागिता रहेको थियो। अन्य सहभागी टिमलाई पनि १०–१० हजार रुपैयाँ वितरण गरिएको निर्णायक समितिका संयोजक लालबहादुर थापाले जानकारी दिए। विजेताहरूलाई आइतबार एक समारोहबीच पुरस्कार राशीसहित प्रमाणपत्र प्रदान गरिएको थियो।

पुस ४ गतेदेखि सुरु भएको भुवा महोत्सव तथा भुवाचाली प्रतियोगिताको उद्घाटन सामाजिक विकास राज्यमन्त्री सरस्वती खडकाले गरेकी थिइन्। तीन दिनसम्म चलेको महोत्सवले बाजुरेली मौलिक संस्कृति, खेलकुद तथा सांगीतिक गतिविधिको प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याएको आयोजकहरूको भनाइ छ। महोत्सवको अवसरमा सांगीतिक प्रस्तुति र विविध सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिएका थिए।

बाजुरा सेवा समाजका अध्यक्ष भरत केसीले हरेक वर्ष बाजुरा घर भई धनगढीमा बसोबास गर्ने व्यक्तिहरूको सहभागितामा भुवा पर्व मनाइने बताउँदै यस पर्वले संस्कृति, परम्परा र स्थानीय खेलकुदको संरक्षणका साथै समुदायबीचको एकता र सामाजिक सम्बन्धलाई मजबुत बनाउँदै आएको उल्लेख गरे।

प्रतिक्रिया