गाैमुल खबर डटकम सोमबार २९, मङि्सर २०८२ ११:५१

खुला केन्द्रीय सदस्यमा उम्मेदवार बने लालबहादुर थापा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, मङि्सर २९, २०८२
खुला केन्द्रीय सदस्यमा उम्मेदवार बने लालबहादुर थापा

बाजुरा ः नेकपा (एमाले) को ११ औँ महाधिवेशनमा लालबहादुर थापा खुला केन्द्रीय सदस्यमा उम्मेदवार बनेका छन् । अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट अघि सारिएका थापा यसअघि पनि केन्द्रीय सदस्य भइसकेका अनुभवी र भरोसा योग्य संगठनकर्ता हुन् ।

ओलीका विश्वासपात्रका रूपमा चिनिने उनले बाजुरा जिल्ला इन्चार्ज  तथा अछाममा संगठन निर्माणको महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएका छन् । दुई दशकभन्दा बढी समय संगठनको बोझ चुपचाप बोक्दै हिँडेका थापाले महाधिवेशनअघि सचिवको जिम्मेवारीमा रहने चाहना राखेका थिए।

तर अध्यक्ष ओलीले टिम विस्तार र व्यवस्थापनको सन्तुलन मिलाउँदै यसपटक उनलाई केन्द्रीय सदस्यमा नै दोहोर्याएका छन् । पार्टीको चमकभन्दा टाढा, तर कामको पहरामा सदैव दृढ देखिने थापाले पहिलो पटक खुलेर आफ्नो राजनीतिक संयम व्यक्त गरेका छन् । “म सचिवका लागि स्वभाविक दाबीदार थिएँ ।

तर अहिलेको मुख्य प्राथमिकता अध्यक्ष केपी ओलीलाई पुनः नेतृत्वमा अघि बढाउनु हो,” थापा भन्छन् । बाजुराको बुढीगंगा-३, ब्रहमतोलामा जन्मिएका थापा हल्लाभन्दा कर्मका पाइलाले चिनिने नेता हुन् ।

नवौँ र दशौँ महाधिवेशनमा केन्द्रीय सदस्य, हाल संगठन विभागका सदस्य यी पदभन्दा ठूलो पहिचान बनेका छन् । उनका नीरव योगदान, कठिन परिस्थितिमा पनि संगठन नछोड्ने चरित्र र बाजुराभरिका दुर्गम भित्तामा उनको अनवरत हिँडाइ । 

‘देशले साहसिक नेतृत्व खोजेको छ’

थापाको बुझाइमा आजको राजनीति केवल आन्तरिक प्रतिस्पर्धा होइन, बाह्य दबाबले थिचिएको देशको संवेदनशील घडी हो । “साहसिक नेतृत्व आजको आवश्यकता हो, र यो क्षमता अध्यक्ष ओलीले प्रमाणित गरिसक्नुभएको छ,” उनी स्पष्ट गर्छन् । सचिव उम्मेदवारीको विषयमा भने उनले संयमित धारणा दोहोर्याउँदै भने अन्तिम निर्णय नेतृत्वकै विवेकमा हुन्छ ।

जेन-जी आन्दोलनपछि संगठन उठाउने काँध

थापा आज ‘बाजुराका इन्चार्ज’ मात्र होइनन्, त्यहाँ पुनः उभिएको संगठनका आधारस्तम्भ पनि हुन्। जेन–जी आन्दोलनपछि कमजोर बनेको संरचनालाई ओलीको नेतृत्वमा रहेको जिल्ला कमिटीसँग मिलेर पुनः जनस्तरसम्म सक्रिय बनाइएको अनुभव उनी स्मरण गर्छन् ।

संघर्ष, जोखिम र जिम्मेवारीको लामो यात्रा

थापाको राजनीतिक यात्रा शहरी सहजताबाट होइन् । २०४४ सालमा नेपाल ल क्याम्पसबाट विद्यार्थी राजनीतिमा प्रवेश गरेका उनी ०५३ सालमा जिल्ला सचिव, ०६९ सालमा जिल्ला अध्यक्ष बने । २०७० को संविधानसभा र २०७४ को प्रतिनिधिसभा निर्वाचनमा बाजुरालाई जिताउँदै उनी केन्द्रको राजनीतिमा स्थापित भए ।

विकासका सवालमा पहाड चिरेर बाटो खोल्ने नेताका रूपमा चिनिने थापाको मूल्यांकन अब हुनैपर्ने माग कार्यकर्ताहरूको छ । एक स्थानीय नेता भन्छन्, “थापाको विकास दृष्टिकोण सहरबाट होइन, कठिन गाउँबाट सुरु हुन्छ ।”

कठिन दिनका छायापछि पनि अडिग

शान्ति र लोकतन्त्रका कठोर दिनहरू उनले नजिकबाट भोगेका छन् । ०५९ सालमा माओवादीद्वारा १५ दिनसम्म अपहरणमा परे पनि उनी विचलित भएनन् । बरु अझ दृढ भएर जनतामाझ फर्किए ।

कानुन र शिक्षामा स्नातक, पेशाले वकिल र व्यवहारमा जनताको साथी । पहाड, खोल्सा र बस्ती-बस्तीमा टेकेका पाइलाहरूले आज लालबहादुर थापालाई पदभन्दा संगठन रोज्ने, अनुशासन र निष्ठाको राजनीतिका प्रतीक केन्द्रीय सदस्यका रूपमा उभ्याएको छ ।
 

प्रतिक्रिया