बाजुरा : गौमुल गाउँपालिकामा पालिका स्तरीय दु्रत प्रतिकार्य टोली सम्बन्धि पैरबी कार्यक्रम आयोजना गरिएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पालिका स्तरीय द्रुत प्रतिकार्य समिति र द्रुत प्रतिकार्य टोली सम्बन्धि पैरबी कार्यक्रम आयोजना गरिएको हो ।
सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालय डोटीको आयोजना तथा डब्लुएचओ र जिल्ला स्वास्थ्य कार्यालय बाजुराको समन्वयमा स्वास्थ्य क्षेत्रमा आउन सक्ने विपद्मा खेल्नु पर्ने भूमिकाका विषयमा प्रशिक्षण गरिएको गाउँपालिका स्वास्थ्य शाखाकी सी अनमी रमा थापाले जानकारी दिएकी छन् ।
स्वास्थ्य सम्बन्धी अप्रतयासित घटनाको तत्काल व्यवस्थापन गर्न सहजताका लागि टोलीलाई प्रशिक्षण गरिएको हो । कार्यक्रममा द्रुत प्रतिकार्य टोली तथा आपत्कालीन समूहको काम, कर्तव्य र अधिकारका विषयमा जानकारी गरिएको थियो ।
प्रशिक्षणले विभिन्न किसिमका रोग, महामारी तथा विपद्का कारण सृजित आपत्कालीन अवस्थामा तत्कालै सेवा पुर्याउन, त्यस्ता अवस्थाको पहिचान, प्रतिकार्य तथा व्यवस्थापनमा सहज हुने सहभागिले बताएका छन् ।
कार्यक्रमको प्रशिक्षण जिल्ला स्वास्थ्य कार्यालय बाजुरा कार्यालय प्रमुख लाल बहादुर खड्काले गरेका थिए । गौमुल गाउँपालिका निमित्त कार्यालय प्रमुख कमला रेग्मीको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडा सदस्य, स्वास्थ्यकर्मी, स्वास्थ्य स्वयंसेविका, सुरक्षाकर्मी लगायत विपद् प्रतिकार्य समिति तथा टोलीको उपस्थित रहेको थियो ।
कार्यक्रममा निमित्त कार्यालय प्रमुख रेग्मीले गठित विपद् प्रतिकार्य टोलीले प्रभावकारी सेवा प्रदान गर्नु पर्नेमा जोड दिएकी छन् । विपद्को बेला आफूसहित समुदायलाई सक्रिय बनाउँदै अधिकार बमोजिमको कर्तव्य पालन गर्न सुझाव दिएकी छन् ।





प्रतिक्रिया