बाजुरा : गौमुल गाउँपालिकामा सुन बनाउँन भनेर गाउँ जान लागेका व्यक्तिहरुलाई नियन्त्रणमा लिई सम्झाई बुझाई गरेर फर्काईएको छ । सोमबार दिउँसो करिब १ बजेको समयमा बडीमालिकाबाट प्रवेश गर्दै गर्दा अपरिचित ६ जनालाई घट्मुना बजार व्यवस्थापन समितिले समातेर गौमुल ईलाका प्रहरी कार्यालयलाई बुझाएको थियो ।
बजार व्यवस्थापन समितिले उनीहरुको साथबाट एक बोतल एसीड समेत बरामद गरी प्रहरीलाई बुझाएको थियो । प्रहरीले जेकजाँच गर्दा उनीहरुको साथमा सुनका गहना बनाउने सामाग्री फेला पारेको थियो । प्रहरीका अनुसार सुन बनाउँन गाउँ हिडुवाको समूह रहेको बुझिएको छ । जस पश्च्यात प्रहरीले आवश्यक चेकजाँच गरी अनुमतिका लागि गाउँपालिकामा पठाएको थियो ।
उनीहरुको साथमा सुनका गहना बनाउने सामाग्री बाहेक अन्य प्यान नम्बर सहितका कुनै पनि प्रमाणहरु फेला नपारेको इलाका प्रहरी कार्यालय गौमुलले जनाएको छ । गाउँपालिकाले भने सम्झाई बुझाई गरेर ६ जनालाई नै फर्काएको छ ।
सुनको नाममा ग्रामीण क्षेत्रका गाउँहरुमा गएर ठग्ने गरेको जनगुनासो आउन थालेको भन्दै पालिकाले प्रवेशमा कडाईका साथ रोक लगाएको गाउँपालिका अध्यक्ष हरि बहादुर रोकायाले बताएका छन् । लुकीछिपी आएका अपरिचित व्यक्ति गाउँमा भेटाएमा तुरुन्त खबर गर्न र कसैले पनि हिडुवा अथाव नचिनेका व्यक्तिहरु मार्फत गहना नबनाउँन उपाध्यक्ष सीता थापाले आग्रह गरेकी छन् ।
राम्रा गहना बनाई दिन्छु भन्दै भ्रममा फालेर ठग्ने गरेको कतिपय घटना साधारण नागरिकले भोग्नु परिरहेकोले त्यस्ता व्यक्तिबाट भुलेर पनि गहना नबनाउँन सुझाव दिएकी छन् । लुकिछिपी बाहिरबाट आएर गाउँका सर्वसाधारणलाई व्यपारको नाममा ठग्ने गरेको भन्दै गाउँपालिकाले कडाई गरेको छ ।





प्रतिक्रिया