बाजुरा ः बाजुराको सदरमुकाम मार्तडीमा व्यवसायिक तरकारी खेती, बाख्रा पालन तथा कुखुरा पालनसम्बन्धी ७ दिने आवासीय तालिम शुक्रबार एक विशेष समारोहका बीच सम्पन्न भएको छ ।
प्लान इन्टरनेशनल नेपालको सहकार्यमा पीसविन नेपालद्वारा सञ्चालित Girls Get Equal 2.0 (आभा : किशोरीहरूको अधिकार र उत्थानशीलताका लागि) परियोजना तथा बडीमालिका नगरपालिकाको संयुक्त आयोजनामा मंसिर १३ देखि १९ गतेसम्म तालिम सञ्चालन गरिएको हो ।
तालिममा बडीमालिका नगरपालिका, त्रिवेणी नगरपालिका, बुढीगंगा नगरपालिका र गौमुल गाउँपालिकाका १८ देखि २४ वर्ष उमेर समूहका ४० जना युवा तथा किशोरीहरू सहभागी थिए । सहभागीमध्ये २० जना बाख्रा पालन, १३ जना व्यवसायिक तरकारी खेती तथा ७ जना कुखुरा पालन समूहका थिए ।
सैद्धान्तिक अध्ययनसँगै सहभागीहरूले व्यावहारिक अभ्यासमा पनि ध्यान केन्द्रित गरेका थिए । बाख्राको आधुनिक खोर सुधार, रोग नियन्त्रण, जात सुधार, लोकल कुखुराको व्यवसायिक पालन, सुली निर्माण, बेमौसमी अफ-सिजन तरकारी खेती, नर्सरी व्यवस्थापन, जैविक मल-विषादीको उपयोग, बजार व्यवस्थापन लगायतका विषयमा उनीहरूले प्रत्यक्ष अभ्यास गरेका थिए ।
तालिमको सहजीकरण बडीमालिका नगरपालिका कृषि तथा पशु शाखा, कृषि ज्ञान केन्द्र बाजुरा तथा भेटेरिनरी अस्पताल÷पशु सेवा विज्ञ केन्द्र बाजुराका प्राविधिकहरूले गरेका थिए ।
तालिम समापन समारोहमा प्रमुख अतिथि तथा बडीमालिका नगर प्रमुख अमर खड्काले सहभागीहरूलाई सीपलाई व्यवहारमा उतार्दै उदाहरणीय उद्यमी बन्न आग्रह गर्दै भने, “समृद्धिका लागि व्यवसाय अनिवार्य छ ।
नगरपालिका सधैं तपाईंहरूको साथमा रहनेछ ।” विशिष्ट अतिथि नगर उपप्रमुख नन्दा थापाले भनिन्, “यो तालिम तपाईंहरूका लागि ज्ञानको बीउ हो । अब यसलाई खेतबारी र गोठमा रोपेर बजारसम्म पुर्याउनुहोस् ।
व्यवसायका चुनौती समाधान गर्न नगरपालिका सधैंसँगै छ ।” कार्यक्रममा प्लान इन्टरनेशनल नेपालका परियोजना संयोजक, पीसविन नेपालका महासचिव, कार्यक्रम प्रबन्धक तथा परियोजना संयोजकको समेत उपस्थिति रहेको थियो ।
सहभागीहरूले तालिमले आत्मनिर्भर बन्ने आत्मविश्वास वृद्धि गरेको उल्लेख गर्दै चाँडै नै व्यवसायिक तरकारी खेती, बाख्रा तथा कुखुरा पालन सुरु गर्ने प्रतिबद्धता जनाएको थिए ।
तालिमबाट स्थानीय स्तरमै तरकारी, मासु र अण्डाको उत्पादन वृद्धि हुने, युवाहरूका लागि रोजगारी सिर्जना हुने र आयआर्जनमा उल्लेख्य सुधार हुने विश्वास गरिएको छ ।


प्रतिक्रिया