गाैमुल खबर डटकम आइतबार २१, मङि्सर २०८२ ११:१३

सद्भाव र सँस्कृति झल्काउँदै बडीमालिकाले मनायाे ११ औं स्थापना दिवस

गाैमुल खबर गाैमुल खबर
मङ्गलबार, मङि्सर १६, २०८२
सद्भाव र सँस्कृति झल्काउँदै बडीमालिकाले मनायाे ११ औं स्थापना दिवस

बाजुरा : जन्म दिन, व्यक्ति हुन्, कि संस्था र संगठनका वा अरु कुनै उद्यम व्यवसाय सुरुवादका । सबैका लागि खास हुन्छन् । बिशेष हुन्छन् । जस्को पनि जन्म जीवनमा एक पटक मात्रै हुन्छ । त्यो उत्सवमय र उत्साहमय नै हुन्छ । यस्तै उत्सव र उत्साहले भरिएको जन्मदिन हरेक वर्ष बडीमालिका नगरपालिकाले मनाउने गर्छ । यो पटक पनि त्यसको निरन्तरता दिएको छ । 

सिंगो पालिका बासीको खुसी र उमंग देखिने गरि कार्यक्रम आयोजना गर्ने र उत्साह मनाउन थालिएको २ वर्ष भयो । पालिका स्थापनाको ११ वर्ष पुग्यो । तर औपचारिक कार्यक्रम अघिल्लो वर्षबाट मात्रै आयोजना गर्न थालिएको हो । बडीमालिका नगरपालिकाको स्थापना २०७१ मंसिर १६ गते साविक जुगाडा, मार्तडी र बुढीगंगा गाउँ विकास समिति मिलाएर गरिएको हो ।

तीन वटा गाविस मिलाएर बनेको बडीमालिका नगरपालिका जिल्लाको सदरमुकाम पनि हो । सदरमुकाम सिंगो जिल्लाकै मुटु वा सबैको सरोकार रहने ठाउँ हो । त्यही पालिकाले आयोजना गर्ने जुनसुकै कार्यक्रम पनि सिंगो जिल्लाको नजरमा पर्ने गर्छन् । त्यसैमा बडीमालिका नगरपालिकाले स्थापना दिवस उत्सवका साथ मनाएको छ ।

कर्मचारी देखि स्थानीयसम्म, सरोकारवाला देखि गाउँटोलका सर्वसाधारण सबैको सहभागिता रहने गरि स्थापना दिवस मनाएको छ । कुनै वडा र वडाका कुनैपनि सँस्कृति प्रदर्शन हुन बाँकीरहेनन् । नौ वटै वडाका लोक सँस्कृतिक झल्किने देउडा देखि झाँकीसम्म, मागल देखि गौरा, अनन्ते देखि पुलतासम्म प्रर्दशन गरिएको छ । 

स्थानीयले बडो उत्साह र उमंगका साथ दिवसमा भाग लिएका छन् । बडीमालिका साविक तीन गाविसका स्थानीयको साझा घर हो । घरको खुसी नै सबैको खुसी हो । घरलाई सुरक्षित राख्ने र सुन्दर बनाउने सबै सदस्यको जिम्मेवारी हुन्छ । खुसीमा सबै रमाउने, समस्यामा सबैले साथ दिएर अघि बढ्ने सन्देश सहीत स्थापना दिवस मनाएको नगर प्रमुख अमर खड्काले बताएका छन् ।

स्थापना दिवस मनाउन थालेको दुई वर्ष भयो । यो पालिकाले पर्वकै रुपमा मनाउने हो । जन्मदिनलाई बिशेष मनाउने, खुसी साँट्ने, सफलता सुनाउने, समस्यामा जुध्न संकल्प गर्ने र राम्रो कामको प्रशंसा गर्दै अघि बढ्ने लक्ष्य सहीत स्थापना दिवस मनाउने गरिएको हो, नगर प्रमुख खड्काले भन्नु भयो ।

स्थापना दिवसको अघिल्लो दिन कर्मचारी बीच भलिबल प्रतियोगिता आयोजना गरिएको थियो । भने दोस्रो दिन साँस्कृतिक प्रस्तुती सहीत देउडा खेल, पुरस्कार र सम्मान कार्यक्रम राखिएको छ । कर्मचारी बीचको भलिबलमा पुरुष तर्फ प्राविधिक टिम र महिला तर्फ स्वास्थ्य कर्मीको टिम प्रथम भएको छ । 

खेलमा प्रथम स्थान ल्याउने दुबै टिम र अरु उत्कृष्ट कर्मचारी, सामाजिक सेवामा सक्रिय व्यक्तित्व र कला कर्मीलाई समेत सम्मान गरिएको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् । पाध्यायका अनुसार नवौ तहको सरकारी सेवामा प्रवेश गरेका उत्कृष्ट निजामति कर्मचारी समेत रहेका इन्जिनियर जंग बहादुर थापा र पालिकाकै पहिलो पत्रकारको छवी बनाएका दयाराम पण्डितलाई सम्मान गरिएको छ ।

लाइभ देउडा खेलाडीलाई पनि सम्मान गरिएको छ । भने जनस्वास्थ्य अधिकृत तीलक न्यौपाने, कार्यालयका कर्मचारी भक्त विक, हिरेन्द्र विक, मदन दानी, जया रावल, प्राविधिक शुशिला रावल र वडा सचिव अमर बडुवाललाई पुरस्कार सहीत सम्मान गरिएको छ ।

पालिकाकै डाक्टर हिमाल कार्की, शिक्षक धनबहादुर रावल र महिला प्रअ शुशिला बुढथापालाई पनि सम्मान गरिएको छ । स्थापना दिवसको अवसर पारी नगरपालिकाले पालिका भरि सार्वजनिक विदा दिएको छ । यो पर्वकै रुपमा मनाउने भएकोले सबैलाई खुसीयाली सहीत सार्वजनिक विदा दिने र स्थापना दिवस मनाउने संस्कारकै थालनी गरिएको नगर प्रवक्ता धर्मराज पाध्यायले बताएका छन् ।

गएको वर्षको स्थापना दिवसमा पूर्व जनप्रतिनिधीलाई सम्मान गरिएको थियो । भुवाचाली देखि सबै प्रकारका सँस्कृति खुला मञ्च मार्तडीमा प्रस्तुत गरिएपछि स्थानीय खुसी भएका थिए । नगर प्रमुख अमर खड्काको अध्यक्षमा सञ्चालन भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया रहेका थिए । 

आफ्नै पहिरन र परिवेश झल्किने गरि स्थापना दिवसमा पुगेका सहभागि महिला पुरुषहरुले पालिकाको विकास र समृद्धिको कामना गरेका छन् । पालिकालाई मुल घर ठानेर सबैले राम्रो बनाउन जिम्मेवारी लिनु पर्ने सुझाव जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले दिएका छन् । 

कार्यक्रममा बालकदेखि वृद्धसम्म, विद्यार्थी देखि शिक्षकसम्म सबै सहभागि थिए । स्थापना दिवस बिशेष कार्यक्रमका सहभागिले खुला मञ्च मार्तडी भरिभराउ देखिएको थियो । बडीमालिकाको उत्सव र उत्साहमय कार्यक्रमबारे नगरबासीले स्यावासी दिएका छन् । यो कार्यक्रमले निरन्तरता पाउनु पर्ने सुझाव उनीहरुको छ ।  

प्रतिक्रिया