बाजुरा : बाजुराको मार्तडी बजारमा रहेको एक फर्निचर उद्योगमा भीषण आगलागी भएको छ । बडीमालिका नगरपालिका ८ का प्रकाश थापाको तल्लो जिउलामा रहेको न्यू सागर फर्निचर एण्ड अर्डर सप्लायर्स ग्यारेजमा आगलागी भएको हो ।
मंङ्गलबार दिउँसो १२ः३० बजेको समयमा ग्रील उद्योग तथा ग्यारेजमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । आगो लागेको २ घण्टापछि नियन्त्रणमा आएको थियो ।
पसलमा काठको काम गरिरहेको बेला एक्कासी विजुलीको तार सट भएर आगलागी भएको हो । स्थानीयले पसलमा लागेको आगो निभाउन प्रयास गरेपनि तिब्र रुपमा आगो दन्किएकाले थप अन्य भौतिक तथा मानवीय क्षति हुन सक्ने भन्दै निभाउन सकेन् ।
पसलमा काठ र ग्यारेजका जलन सामाग्री बढी भएकाले तत्काल आगो नियन्त्रणमा आएको थिएन् । पछि ठूलो संख्यामा स्थानीय, नेपाल प्रहरी, नेपाली सेना लगायतले पानीले आगो नियन्त्रणमा लिएका थिए ।
आगलागीबाट पसलमा रहेको सम्पूर्ण फर्निचर उद्योग, गाडीको ग्यारेजसहितका सामानहरु जलेर नष्ट भएका छन् । ग्यारेजमा रहेका फलाम बाहेक अन्य सबै सामग्री जलेर खरानी भएका प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक लक्ष्मीराज जोशीका अनुसार प्रारम्भिक अनुसन्धानमा विद्युतको तार सर्ट भएर नै आगलागी भएको अनुमान गरिएको छ ।
उनले आलगालीबाट फर्निचर र ग्यारेजसँग भएकाले करिब २ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरिएको र क्षतिको विवरण एकीन गर्ने काम भइरहेको बताएका छन् । सो विषयमा प्रहरीले थप अनुसन्धान जारी राखेको छ ।
त्यस्तै जिल्ला सदरमुकाम मार्तडी, बाम्का, कोल्टी जस्ता ठूला बजारहरुमा दिनप्रतिदिन आगलागीका घटनाहरु बढिरहेका छन् । तर नियन्त्रणका लागि जिल्लामा एउटा पनि दमकल नहुँदा थप बढी क्षति व्यहोर्नु पर्ने बाध्यता रहेको छ ।


प्रतिक्रिया