गाैमुल खबर डटकम मङ्गलबार ०९, मङि्सर २०८२ ०६:३१

बडीमालिकामा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, मङि्सर ०८, २०८२
बडीमालिकामा छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु

बाजुरा ः बडीमालिका नगरपालिकाको छैटौँ नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आजबाट औपचारिक रूपमा सुरु भएको छ । बडीमालिका नगरपालिकाको भौनेरास्थित सत्यवादी माध्यमिक विद्यालयमा एक विशेष समारोहका बीच प्रतियोगिताको उद्घाटन गरिएको हो ।

“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, विद्यार्थीको सर्वाङ्गीण विकासका लागि खेलकुद” भन्ने मूल नारासहित यो वर्षको प्रतियोगिता सञ्चालन भएको छ । उद्घाटन समारोहमा बडीमालिका-१ र २ का विद्यार्थीहरूले विविध झाँकी, मार्चपास तथा सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा नगरप्रमुख अमर खड्काले खेलकुदलाई निरोगी समाज निर्माणको आधारका रूपमा व्याख्या गर्दै भने, “विद्यार्थीको क्षमता विकास र उनीहरूलाई राष्ट्र निर्माणको मूलधारमा उभ्याउने महत्वपूर्ण माध्यम खेलकुद हो ।

नगरपालिकाले खेलकुद संरचना विकासदेखि प्रतियोगिता व्यवस्थापनसम्मका कार्यहरू योजनाबद्ध रूपमा अघि बढाउनेछ ।” उनका अनुसार खेलमैदान स्तरोन्नति तथा प्रतिभावान खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ ।

उपप्रमुख नन्दा थापाले महिला तथा बालबालिकामैत्री खेलकुद वातावरण निर्माणमा पालिकाको जोड रहने उल्लेख गर्दै भनिन्, “हामी खेलकुदलाई केवल प्रतिस्पर्धा मात्र होइन, अनुशासन, नेतृत्व र आत्मविश्वास विकास गर्ने अवसरका रूपमा लिन्छौँ । नगरका सबै विद्यालयमा समान पहुँचसहित खेलकुद कार्यक्रम विस्तार गर्दै जानेछौँ ।”

उनले खेलाडीहरूको सहभागिता वृद्धि गर्न छुट्टै प्रोत्साहन कार्यक्रम अघि सारिने पनि बताइन् । कार्यक्रमका सहभागी सरोकारवालाहरूले विद्यार्थीको उज्वल भविष्यका लागि खेल क्षेत्रलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

उद्घाटन समारोहको अध्यक्षता बडीमालिका नगरपालिका खेलकुद संयोजक राजेश पायल विकले गरेका थिए । कार्यक्रममा उपप्रमुख नन्दा थापा, सहायक प्रमुख जिल्ला अधिकारी सितल रावल, प्रमुख प्रशासकीय अधिकृत पदम बहादुर माझी, तथा वडा नं. १ देखि ९ का वडाध्यक्षहरूको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बडीमालिका नगरपालिका शिक्षा शाखाका प्रमुख प्रा. स. राम बहादुर कटुवालले गरेका थिए ।
 

प्रतिक्रिया