गाैमुल खबर डटकम आइतबार २१, मङि्सर २०८२ १२:०२

‘मैझाडो’ : गोरुलाई छुट्टी दिएर मनाइने बाजुराको अनौठो किसान पर्व

यसवर्ष बृहत् डेउडा प्रतियोगिता हुने
बाजुरा
रमित वि.क.
शनिबार, मङि्सर ०६, २०८२
‘मैझाडो’ : गोरुलाई छुट्टी दिएर मनाइने बाजुराको अनौठो किसान पर्व

बाजुरा ः बाजुराको गौमुल गाउँपालिका-३ धल्काँडा क्षेत्रमा हरेक वर्ष मंसिर ७ गते ‘मैझाडो’ नामक अनौठो र मौलिक पर्व भव्य रूपमा मनाइन्छ । असारमा रोपाइँ गरी धान, कोदो, मकैजस्ता बाली भित्र्याएपछि गहुँ-जौ रोप्ने सुरुवातसँगै गोरुलाई आराम दिने दिनका रूपमा यो पर्वको पहिचान छ ।

२०७० सालदेखि गाउँकै पहलमा यस पर्वलाई ‘किसान दिवस’ का रूपमा निरन्तरता दिइँदै आएको वडा अध्यक्ष गोरख बोहराले जानकारी दिएका छन् ।

स्थानीय संस्कृतिमा दखल राख्ने ७२ वर्षीय मानबहादुर बोहराका अनुसार मैझाडो पुस्तौँदेखि मनाउँदै आएको, मानव जीवनशैली र पशुप्रतिको प्रेम-सम्मान-न्याय झल्काउने महत्त्वपूर्ण पर्व हो ।

मंसिर ७ गते धल्काँडामा रहेको कालिका भगवती मन्दिरमा ठूलो मेला लाग्छ, जसमा बाजुरासँगै बझाङ, बैतडी, डडेल्धुरा र दार्चुलादेखिका मानिस समेत आकर्षित हुने गर्छन् ।

पर्वको विधि

मैझाडोको बिहान हल गोरुलाई पखाली जुवा हालेर गोठबाट निकालेर कालिका मन्दिर परिसरमा राखिन्छ । करिब ३००-४०० हल गोरुको सामूहिक पूजा बुण्याउणी (पुजारी-मुखिया) द्वारा गरिन्छ । पूजा सकेपछि बुण्याउणीले मन्दिरको अग्लो भागबाट घण्टा बजाउँदै “गोरु खुइनु गाउँले हो !” भनेर उद्घोष गर्छन् ।

यो संकेत पाएपछि किसानहरूले सबै गोरुको जुवा एकैचोटी निकाल्नुपर्छ, नत्र अनिष्ट हुने जनविश्वास छ । जुवा फुकाएपछि गोरुलाई आटोको पिणा खुवाइन्छ र त्यसपछि किसानले आफ्ना गोरु घरतर्फ लैजान्छन् । यसरी “मैझाडो” गराएर ल्याइएका गोरुलाई वैशाखसम्म जोत्न नमिल्ने नियम छ ।

वैशाखपछि पनि धामीले तोकिदिएको शुभसाइतमै मात्र खेत जोत्न पाइन्छ । गोरु घर ल्याएपछि मात्र पर्व सकिँदैन; आफन्त-छिमेकीलाई बोलाएर मीठा परिकार खुवाउने, साँझमा सांस्कृतिक कार्यक्रम र बृहत् डेउडा प्रतियोगिता आयोजना गर्ने परम्परा पनि रहिआएको छ ।

स्थानीय युवा भरत बोहराका अनुसार प्रविधिको विकास, बदलिंदो जीवनशैली र युवाहरूको विदेश प्रेमका बीच यस्तो मौलिक संस्कृतिलाई जोगाइराख्नु चुनौती बन्दै गएको छ । ट्र्याक्टरको प्रयोग बढ्दै जाँदा गोरुको उपयोग घट्दै गएको र पर्व नै लोप हुने हो कि भन्ने चिन्ता स्थानीयहरूमा छ ।

“गोरु किसानको सहारा, घरको खम्बा हो । गोरु नहुँदा खेतबारी बाँझो भइरहेको देखिन्छ,” उनीहरू भन्छन् । मैझाडो पर्व गोरुप्रति कृतज्ञता, सम्मान र किसान जीवनका दुःख-सुखसँग जोडिएको अद्वितीय सांस्कृतिक धरोहरका रूपमा अझै पनि धल्काँडाको पहिचान बनेर जीवित छ ।
 

प्रतिक्रिया