बाजुरा : गौमुल गाउँपालिकामा सामुदायिक वन कार्ययोजना सम्बन्धि प्रशिक्षण गरिएको छ । बुधबार सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारीलाई सामुदायिक वन कार्ययोजना तयारी सम्बन्धि प्रशिक्षण गरिएको हो ।
गौमुल गाउँपालिका जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजनाको आयोजनामा ६ वटै वडामा रहेका वन उपभोक्ता समूहका पदाधिकारीलाई कार्ययोजना निर्माणमा पोख्त बनाउँने उद्देश्यसहित एक दिने गोष्ठीको आयोजना गरिएको बताईएको छ ।
कार्यक्रममा उपभोक्ता समूहका पदाधिकारीलाई वनका नीति, नियम र कार्ययोजना लगायतका विषयमा ज्ञान प्रदान गरिएको छ । हालसम्म पदाधिकारीले वन कार्ययोजना तयार पार्न नसक्दा अन्यौलतासंगै वन ओझेलमा पर्दै गएकाले उक्त समस्या हटाउन प्रशिक्षण गरिएको जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजनाका रण बहादुर विकले बताएका छन् ।
कार्यक्रममा गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाले सिकेका कुराहरु कार्यान्वय गर्दै वनलाई थप लयमा ल्याउन सक्रिय भूमिका खेल्न वन समूहका पदाधिकारीलाई आग्रह गरिन् । उनले वनको नीति, नियममा र कानुुनमा रहेर काम गर्न अपिल गर्दै थप नियमन गर्न उपभोक्ताहरुलाई समेत सोही दिशातर्फ डोर्याउन सुझाव दिएकी छन् ।
वन कार्ययोजनाका विषयमा जिल्ला वन अधिकृत सन्तोष ढुङ्गाना, जलवायु परिवर्तन स्थानीय अनुकूलन परियोजनाका प्राविधिक सल्लाहकार दिवाकर दुहाल, वन विज्ञ भरत चौलागाई र कमल वि.कले प्रशिक्षण गरेका थिए ।
गौमुल गाउँपालिका उपाध्यक्ष सीता थापाको अध्यक्षतामा सञ्चालन भएको कार्यक्रममा वडाध्यक्षहरु कलक सिंह, देवबहादुर रोकाया, देबेन्द्र बहादुर रोकाया, अमर वि.क, गोरख बहादुर बोहरा र प्रकाश रोकाया सहीतको उपस्थित रहेको थियो ।





प्रतिक्रिया