बाजुरा : बाजुराको गौमुल गाउँपालिकाका किसानले किवी फलाउन सफल भएका छन् । गौमुल गाउँपालिका १ अम्लिसका किसान जयलाल रोकायाले एउटै बोटमा ५० किलोदेखि ५५ किलोसम्म कवी फलाउन सफल भएका हुन् ।
२०७९ सालदेखि २४ सय हेक्टर क्षेत्रफलमा थालनी गरिएको किवी खेती त्यसको तीन वर्षबाट फल्न थालेको हो । त्यतिखेर केही बोटहरुमा ५ देखि ६ केजीसम्म मात्र किवी फलेको थियो । कृषि ज्ञान केन्द्र बाजुराको अनुदानमा रोकायाले १ सय ९० वटा बोट किवी लगाएका थिए । जसमध्ये १ सय ८० वटा बोट बाचेका थिए ।
उनका अनुसार गत वर्ष १ क्वीन्टल ७० किलो फल्यो । पर्याप्त मल, पानी र गोडमेलले पाँच वर्षको निरन्तरको मेहनतले अहिले १४ बोटमा १० क्वीन्टल भन्दा बढी किवी फलेको छ ।
रोकायाले कृषि ज्ञान केन्द्र बाजुराको ५० प्रतिशत अनुदान र ५० प्रतिशत आफ्नै लगानीमा हिमालय बहु उपयोगि कृषि तथा पशुपन्छी फर्मद्धारा किवी उत्पादन गरेका हुन् । अहिले उनीसहित घरपरिवारका सदस्यहरु किवी टिपेर विक्रिका लागि प्याकिङ्ग गर्न व्यस्त छन् । तर बजार अभावका कारण चिन्तित छन् ।
धेरै वर्षको मेहनतले किवी राम्रो उत्पादन गर्न सफल भएपनि बजारीकरणको समस्या भएको उनले बताए । उतिबेला बोटहरु कसरी जोगाएर फलाउँन सफल हुने भन्ने पीर, चिन्ता लाग्थ्यो । अहिले राम्रो उत्पादन गर्न सफल भएपछि बजारीकरणको चिन्ता हुन थालेको रोकायाले बताएका छन् ।
स्थानीय बजारमा खपत हुने अवस्था नभएकाले उत्पादित किवी जिल्ला सदरमुकाम मार्तडी वा ठुला बजारसम्म पुर्याउनु पर्ने र अम्लिस सडक सञ्जालसंग नजोडिएकाले उत्पादित किवी भरियाँ अथवा खच्चड मार्फत गाडी चल्ने स्थान गाउँपालिकाको केन्द्र घट्मुनासम्म पुर्याउनु पर्ने अवस्था छ । तर ढुवानी भाडा महङ्गो पर्ने भएकाले समस्या हुने उनले बताए ।
किवी गाउँमा २ सय र स्थानीय बजारमा ४ सय रुपैयाँमा विक्रि हुन्छ । बजारमा किवीको माग बढ्न थालेपनि ढुवानी समस्याका कारण माग अनुसार समयमै बजार पुर्याउन नसकिएको उनको भनाइ ।
उनका अनुसार ढुवानी गरिदिन कृषि ज्ञान केन्द्रलाई सम्पर्क गरे, अनुगमनमा आउन्छौ । त्यसपछि ज्ञान केन्द्रले ढुवानीका लागि सहयोग गर्ने वा नगर्ने भन्ने विषयमा एकीन हुने भनेको छ । बाजुरामा जहिले पनि बजारकै अभाव हुने मुख्य समस्या नै हो । सिजनल फलफूल होस् त तरकारी । यसको मुख्य समस्या भनेको सडक हो ।
सडक नपुगेका धेरै गाउँहरु छन्, जहाँका किसानहरु फलफूल र तरकारी खेती गर्दै आएका छन् । तर बजारीकरणको अभावले झर्ने, कुहिएर खेर जाने र गाउँमा निःशुल्क रुपमा बाड्नुपर्ने बाध्यता रहदै आएको छ ।
जायलाल रोकायाले उत्पादित किवी समयमै बजार पुर्याउन नसके झर्ने र कुहिएर खेर जाने हो कि भन्ने चिन्ता लाग्न थालेको बताए । उनले उत्पादित किवी बजारीकरणमा सहयोग गरिदिन सम्बन्धित निकायलाई अनुरोध समेत गरेका छन् ।
यता गौमुल गाउँपालिका ६ सटेडाका किसानले पनि किवी फलाएका छन् । कृषि कर्मबाटै किसानको जीवनस्तर उन्नत बनाउँन गाउँपालिकाले वर्षेनी किवी, स्याउ, सुन्तला, कागजी जस्ता माटो सुवाउँदा थुप्रै फलफूलका बोटहरु दिदै आएको छ ।



प्रतिक्रिया