गाैमुल खबर डटकम आइतबार १०, फागुन २०८२ ०८:४४

बाजुरामा धान उत्पादन बढ्यो, ७५८ मेट्रिक टनले वृद्धि

गाैमुल खबर गाैमुल खबर
बुधबार, कार्तिक २६, २०८२
बाजुरामा धान उत्पादन बढ्यो, ७५८ मेट्रिक टनले वृद्धि

बाजुरा : बाजुरामा यस आर्थिक वर्षमा धान उत्पादनमा वृद्धि भएको छ । गत आर्थिक वर्षको तुलनामा यस वर्ष ७५८ मेट्रिक टन बढी धान उत्पादन भएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।

गत वर्ष यहाँ १७ हजार ५ सय मेट्रिक टन धान उत्पादन भएको थियो भने यो आर्थिक वर्ष १८ हजार २५८ मेट्रिक टन उत्पादन भएको छ । आर्थिक वर्ष २०८०–०८१ मा यहाँ १६ हजार ५ सय ६५ मेट्रिक टन धान उत्पादन भएको थियो। 

विगत दुई वर्षसँग तुलना गर्दा यस वर्ष धान उत्पादनमा वृद्धि आएको कृषि ज्ञान केन्द्र बाजुराका प्रमुख जसिराम साहनीले बताएका छन् ।

पहिला यहाँका किसानले पुरानो जातको धान लगाउने गर्थे, जसमा खेती बढी भएपनि उत्पादन कम हुन्थ्यो । अहिले किसानलाई रामधान, जुम्ली, सावित्री, हिमाली धान, खुमल जस्ता उत्पादन बढी हुने उन्नत जातको धान प्रवद्र्धन गरेपछि धान उत्पादन बढ्न थालेको बताए ।

बाजुराका हिमाली, जगनाथ, स्वामिकार्तिक खापर, बुढीनन्दा, बडीमालिका, गौमुल, बुढीगंगा, त्रिवेणी र खप्तड छेडेदह गाउँपालिकामा धान खेती हुने गर्छ । यहाँका किसानले चैत–वैशाखमा पाखो र जेठ–असारमा धान रोपाइँ गर्ने गरेका छन् ।

बाजुरामा २ लाख ३० हजार ३७ हेक्टर जमिनमध्ये २२ हजार हेक्टर मात्रै खेतीयोग्य छ । यसमध्ये ६ हजार ९१५ हेक्टर जमिनमा मात्र धान खेती हुन्छ र १३ हजार १४० हेक्टर जमिनमा उत्पादन हुने गरेको छ । यहाँ १.९ मेट्रिक टन–हेक्टर धान उत्पादकत्व हुने गरेको साहनीले बताएका छन् । 
 

प्रतिक्रिया