गाैमुल खबर डटकम सोमबार २२, मङि्सर २०८२ ०३:५१

अछामका चार स्थानीय तह दमकल खरिद गर्ने तयारीमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
आइतबार, कार्तिक २३, २०८२
अछामका चार स्थानीय तह दमकल खरिद गर्ने तयारीमा

अछाम ःजिल्लामा लगातार भइरहेका भीषण आगलागीका घटनाबाट ठुलो धनजनको क्षति हुन थालेपछि अछामका चार स्थानीय तहले दमकल खरिदका लागि संयुक्त पहल थालेका छन्। जिल्लाका १० स्थानीय तहमध्ये साँफेबगर नगरपालिका, मेल्लेख गाउँपालिका, चौरपाटी गाउँपालिका र बान्नीगढी-जयगढ गाउँपालिकाले आपसी सहकार्यमा दमकल खरिद गर्ने तयारी अघि बढाएका हुन्।

पछिल्लो समय बान्नीगढ–जयगढ गाउँपालिकाको जयगढ बजार र साँफेबगरको हाटबजारमा भएका विनाशकारी आगलागीका घटनापछि दमकलको अभाव खड्किएको थियो। यी घटनाहरूमा करोडौंको क्षति भएको र समयमै आगो नियन्त्रण गर्न नसक्दा बजार नै खण्डहरमा परिणत भएको थियो।

जिल्लामा एक मात्र दमकल सदरमुकाम मंगलसेन नगरपालिकासँग रहेको र त्यो पनि भौगोलिक विकटताका कारण समयमै घटनास्थलमा पुग्न नसक्ने समस्या छ। यिनै समस्यालाई मध्यनजर गर्दै चार पालिकाका प्रमुखहरूको बैठकले संयुक्त रूपमा दमकल खरिद गर्ने निर्णय गरेको हो।

साँफेबगर नगरपालिकाका नगर प्रमुख राजेन्द्रबहादुर कुँवरका अनुसार, हालै बसेको संयुक्त बैठकमा दमकल खरिदको आवश्यकता र सहकार्यबारे गम्भीर छलफल भएको थियो। सोही बैठकमा चारवटै पालिका दमकल खरिद गर्न तयार भएका हुन्। दमकल खरिदका लागि साँफेबगर नगरपालिका र चौरपाटी गाउँपालिकाले २०–२० लाख रुपैयाँ बजेट छुट्टाइसकेका छन्।

यस्तै, मेल्लेख गाउँपालिका र बान्नीगढी-जयगढ गाउँपालिकाले पनि आवश्यक बजेट विनियोजन गरेर खरिद प्रक्रियामा सहभागी हुने प्रतिबद्धता जनाएका छन्। पटक–पटक आगलागीबाट ठुलो क्षति व्यहोर्नुपर्‍यो। अब एउटा पालिकाको एक्लो प्रयासले मात्र सम्भव नहुने देखेपछि हामीले सहकार्यको हात अघि बढाएका हौं।

हाम्रो लक्ष्य चालु आर्थिक वर्षभित्रै दमकल खरिद गरेर सञ्चालनमा ल्याउने हो’, नगर प्रमुख कुँवरले भने।  विगतमा साँफेबगर र जयगढमा आगलागी हुँदा स्थानीय, नेपाल प्रहरी र सशस्त्र प्रहरीले खोलाको पानी बाल्टीले घण्टौंको प्रयासपछि मात्र आगो नियन्त्रणमा लिएका थिए।

दमकल नहुँदा आगो चाँडै फैलिएर ठुलो क्षति हुने गरेको स्थानीय बताउँछन्। चार पालिकाको यो संयुक्त प्रयासले आगलागी जस्ता विपद्का घटनामा तत्काल प्रतिकार्य गर्न सहज हुने र धनजनको क्षति न्यूनीकरणमा महत्त्वपूर्ण सहयोग पुग्ने अपेक्षा गरिएको अछाम साँफेका स्थानीय जानकी कुँवरले बताइन्।  उनका अनुसार यो सहकार्यले अन्य स्थानीय तहलाई पनि विपद् व्यवस्थापनमा एकताबद्ध हुन सन्देश मिल्ने छ।

प्रतिक्रिया