बाजुरा : नेपाल राष्ट्रिय शिक्षक संगठन गौमुल गाउँ कार्यसमितिले शैक्षिक गुणस्तर वृद्धि गर्न सुझाव संकलन अभियान सञ्चालन गर्ने भएको छ । आज बसेको कार्यसमितिको तेस्रो बैठकले विद्यालय स्तरबाट सुझाव संकन गर्ने निर्णय गरेको हो ।
बैठकले प्रत्येक वडाको कुनै एक विद्यालयमा घुम्ती बैठक बसि जनप्रतिनिधी, कार्यरत शिक्षकहरुसंग शैक्षिक बहस तथा संवादसहित सुझाव संकलन गर्ने निर्णय गरेको नेपाल राष्ट्रिय शिक्षक संगठन गौमुल गाउँ कार्यसमितिका अध्यक्ष नरेन्द्र बहादुर धामीले बताएका छन् ।
उनका अनुसार घुम्ती बैठकको मिति समेत तय गरिएको छ । गौमुल गाउँपालिका वडा नं.१ को अम्लिस माविमा यहि मिति २०८२ मंसिर १२ गते शुक्रबारको दिन घुम्ती बैठक बस्ने भएको छ ।
उक्त बैठकमा वडाभित्रका विद्यालयमा कार्यरत सबै शिक्षकहरुलाई जम्मा गरी जनप्रतिनिधि तथा सेवा क्षेत्रिभित्र रहेका व्यक्तिहरुसंग संयुक्त रुपमा बृहत छलफल गर्ने निर्णय गरिएको धामीले बताएका छन् । अर्को स्थानमा बस्ने बैठकको मिति भने सोही दिन तय गरिने भएको छ ।
घुम्ती बैठकमा संकलित सुझावसहितको छलफलले शैक्षिक गुणस्तर सुधारमा केही इट्टा थपिने विश्वास लिइएको नेपाल राष्ट्रिय शिक्षक संगठन गौमुल गाउँ कार्यसमितिका सचिव कृष्ण रोकायाले बताएका छन् ।
त्यस्तै आजै बसेको बैठकले कीर्तिचौर माविका प्र.अ नेपाल राष्ट्रिय शिक्षक संगठन बाजुराका पूर्व अध्यक्ष तथा आजीवनी सदस्य खडक बहादुर शाह बुढीगंगा नगरपालिकास्थित भानोदय नमुना माविमा सरुवा भई गएकाले उनलाई आगामीक यात्राको सफलताको शुभकामना सहीत सम्मानका साथ संगठनले विदाई गर्ने निर्णय गरिएको उनले बताए ।
नेपाल राष्ट्रिय शिक्षक संगठन गौमुल गाउँ कार्यसमितिका अध्यक्ष नरेन्द्र बहादुर धामीको अध्यक्षतामा बसेको बैठकमा उपाध्यक्ष शिव बहादुर रोकाया, सचिव कृष्ण रोकाया, सहसचिव भरत परी, कोषाध्यक्ष जनक बहादुर रोकाया, सदस्य चित्र बहादुर रोकाया लगायत कार्यसमितिमा रहेका शिक्षकहरुको उपस्थित रहेको थियो ।





प्रतिक्रिया