बाजुरा : जिल्ला निर्वाचन कार्यालय बाजुरामा मतदाता नामावलीमा नाम दर्ता गराउनेका संख्या न्यून देखिएको छ । असोज १० गतेबाट सुरु गरिएको मतदाता नामावली सङ्कलन अभियानमा उत्साहजनक सहभागिता नदेखिएको हो ।
आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गरी सञ्चालन गरेको मतदाता नामावली सङ्कलनमा सहभागिता हुनेको संख्या न्यून देखिएको जिल्ला निर्वाचन कार्यालय बाजुराका प्रमुख अंगत महतले बताएका छन् ।
उनका अनुसार डेढ महिनाको अवधिमा ४११ जनाले मात्र नयाँले मतदाता नामावली दर्ता गराएका छन् । जसमध्ये पुरुष २६०, महिला १५१, अन्य जिल्लाबाट दर्ता भएका ३ जना र त्रुटि सच्याउँने ३० जना रहेका छन् ।
निर्वाचन आयोगले असोज १० गतेदेखि कार्तिक मसान्तसम्मका लागि देशभर मतदाता नामावली दर्ता तथा अद्यावधिक अभियान सञ्चालन गरेपनि विहीबारसम्म बाजुरामा नामावली दर्ता गर्नेको संख्या अति न्यून देखिएको उनले बताए ।
मतदाता नामावली दर्ता गर्ने समय अब १० दिन मात्र बाकी छ, उनले भने उक्त अभियानमा दैनिक एक सय जना सहभागिता हुने आकलन गरेका थियौं । तर सोचे अनुरुप नभएको उनको भनाइ छ ।
अभियान सञ्चालन हुनभन्दा अघि पनि प्रत्येक दिन २० जनाको हाराहारीमा मतदाता नामावली दर्ता गराउँन सहभागि हुन्थ्ये । अहिले पनि सोही संख्यामा दर्ता गराउन आउँने गरेको महतले बताएका छन् ।
पछिल्लो समय युवा पुस्तामा नागरिकता बनाए भइहाल्छ, मतदाता नामावली के चाहिँयो भन्ने सोच बढ्दै गएका कारणले पनि मतदता नामावली दर्ता गराउनेको सख्या घटेको हुनसक्ने उनको भनाइ छ । निर्वाचन कार्यालयमा विदाको दिन बाहेक विहान ८ बजेदेखि बेलुका ६ बजेसम्म दर्ताको काम हुने गरेको छ ।
मतदाता नामावलीमा नाम दर्ताका लागि नेपाली नागरिकता अनिवार्य छ । नागरिकता भएको व्यक्तिले आफ्नो विवरण मोबाइल तथा कम्प्युटरबाट घरमै बसेर पनि भर्न सक्ने व्यवस्था पनि छ । तर अझै अनलाइन प्रणाली प्रयोग गर्न नसक्दा र इन्टरनेट पहुँचको अभावका कारणले नाम दर्ताको संख्या न्युन देखिनुको साथै ढिलाई भईरहेको छ ।
निर्वाचन आयोगले आगामीक फागुनमा हुने निर्वाचनको तयारीका लागि देशभरी मतदाता नामावली अद्यावधिक अभियान सञ्चालन गरेको छ । आयोगले मतदाता नामावलीमा नयाँ नाम थप्न, त्रुटि सच्याउँन, मृतक वा दोहोरो नाम हटाउनका लागि कार्तिक मसान्तसम्म समय सिमा तोकेको छ ।
मतदाता नामावली दर्ता गराउने समय अब १० दिन मात्र बाकी रहेकाले मतदाता नामावली दर्ता गर्न छुटेका वा अद्यावधिक गर्न बाकी रहेकाहरुले समयमै दर्ता गराउन निर्वाचन कार्यालय बाजुराले अनुरोध समेत गरेको छ ।





प्रतिक्रिया