बाजुरा ः बडीमालिका नगरपालिकामा लैङ्गिक हिंसा रोकथाम तथा प्रतिकार्य सम्बन्धी समीक्षा कार्यक्रम मंगलबार सम्पन्न भएको छ । उक्त कार्यक्रम पीसविन नेपाल, सिएमसी नेपाल र गिफ्ट नेपालको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो ।
कार्यक्रममा विभिन्न सरकारी निकाय, स्थानीय तहका जनप्रतिनिधि, गैरसरकारी संस्थाका प्रतिनिधि तथा लैङ्गिक हिंसा विरुद्ध कार्यरत व्यक्तिहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता जिबिभी नेटवर्क संयोजक कल्पना साउँदले गर्नुभयो भने प्रमुख अतिथिको रूपमा बडीमालिका नगरपालिकाका नगर प्रमुख अमरबहादुर खड्का रहनुभएको थियो ।
प्रमुख अतिथि खड्काले नगरपालिकाले लैङ्गिक हिंसा अन्त्यका लागि नीति, योजना र कार्यक्रममार्फत निरन्तर काम गरिरहेको उल्लेख गर्दै महिला तथा बालबालिकाको अधिकार सुनिश्चित गर्न सबै सरोकारवालाबीच सहकार्य अपरिहार्य रहेको बताउनुभयो ।
कार्यक्रममा जिबिभी नेटवर्कले हालसम्म सञ्चालन गरेका गतिविधिहरूको समीक्षा प्रस्तुत गर्दै बडीमालिकामा लैङ्गिक हिंसा घटनाको पहिचान, पीडित सहयोग, सचेतना कार्यक्रम, समुदायस्तरका संवाद र पुरुष सहभागिता अभिवृद्धिका लागि सञ्चालन भएका कार्यक्रमहरूको विवरण साझा गरेको थियो ।
त्यसैगरी पीसविन नेपाल र सिएमसी नेपालका प्रतिनिधिहरूले संस्थाले समुदायस्तरमा लैङ्गिक हिंसा रोकथामका लागि गरेको कार्य, उपलब्धि र चुनौतीहरूबारे जानकारी दिँदै आगामी दिनमा सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा बडीमालिका नगरपालिका महिला शाखा प्रमुख केशरी रोकायाले महिला सशक्तीकरण, लैङ्गिक समानता प्रवद्र्धन तथा सामाजिक समावेशी कार्ययोजनाबारे जानकारी दिनुहुँदै नगरपालिका स्तरमै लैङ्गिक हिंसा निवारणका लागि नीतिगत तथा कार्यक्रमगत पहल भइरहेको बताउनुभयो ।
त्यसैगरी जिल्ला प्रहरी कार्यालय बाजुराका निमित्त प्रहरी नायब उपरीक्षक गगनसिंह भाटले लैङ्गिक हिंसा घटनामा प्रहरी प्रशासनको भूमिकाबारे प्रकाश पार्दै प्रहरीलाई पीडितमैत्री बनाउने दिशामा निरन्तर प्रयास भइरहेको जानकारी दिनुभयो । उहाँले समुदाय र प्रहरीबीच विश्वास निर्माण गरी हिंसा विरुद्धको अभियानलाई सशक्त बनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा शिक्षा शाखा प्रमुख, स्वास्थ्य शाखा अधिकृत, पीसविन नेपालका कार्यक्रम प्रबन्धक धर्म रोकाया, गैरसरकारी संस्थाका फोकल पर्सन तथा जिबिभी नेटवर्कका सदस्यहरूको सहभागिता रहेको थियो । सहभागीहरूले आ–आफ्ना अनुभव, चुनौती र आगामी योजनाबारे विचार प्रस्तुत गरेका थिए ।
कार्यक्रमको समापन सत्रमा सहभागीहरूले बडीमालिका नगरपालिकाभित्र लैङ्गिक हिंसा न्यूनीकरणका लागि संयुक्त रूपमा काम गर्ने प्रतिबद्धता जनाएका छन् । साथै सरोकारवाला निकायबीच सहकार्य सुदृढ गर्दै पीडितमैत्री सेवा प्रवद्र्धन र जनस्तरमा सचेतना फैलाउने कार्यलाई प्राथमिकतामा राख्ने सहमति गरिएको थियो ।
कार्यक्रमको अन्त्यमा संयोजक कल्पना साउँदले सबै सहभागी संस्था, सरोकारवाला र नगरपालिकालाई धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि संयुक्त रूपमा लैङ्गिक हिंसा विरुद्धको अभियानलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता गरिएको छ ।





प्रतिक्रिया