बाजुरा ः प्रतिनिधि सभा पुनःस्थापनाको माग गर्दै नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले देशव्यापी जनपरिचालन अभियान सञ्चालन गर्ने भएको छ । पार्टीको केन्द्रीय सचिवालय बैठकले यस अभियान अन्तर्गत देशभरका ६ हजार ७ सय ४३ वटै वडामा कात्तिक २२ गते जनभेला आयोजना गर्ने निर्णय गरेको हो ।
पार्टी सचिव काँशी विकका अनुसार सोही निर्णय अनुसार बाजुरामा समेत जनभेला आयोजना गरिने भएको छ । यस्तै, सबै पालिकामा कात्तिक २५ गते र सबै जिल्लामा कात्तिक २९ गते जनसभा गरिने निर्देशन पनि केन्द्रीय कार्यालयबाट जारी गरिएको छ ।
एमालेले अभियानलाई प्रभावकारी बनाउन आफ्ना जनसंगठनहरूलाई सक्रिय परिचालन गर्ने जनाएको छ । सो उद्देश्यका लागि जनसंगठनका नेता, कार्यकर्ता र समर्थकहरूलाई व्यापक रूपमा परिचालन गर्न र वडा, पालिका तथा जिल्ला तहका कार्यक्रममा सहभागिता सुनिश्चित गर्न सर्कुलर पठाइएको पार्टी अध्यक्ष लालबहादुर ओलीले जानकारी दिएका छन् ।
उनका अनुसार, अभियानको तयारी स्वरूप प्रत्येक जनसंगठनले आफ्ना कमिटी बैठक, सचिवालय बैठक वा पदाधिकारीस्तरका छलफलहरू गरी सहभागीता सुनिश्चित गर्ने निर्णय लिनेछ । साथै, आगामी जिल्ला कमिटी बैठकमा अभियानको प्रगतिबारे विस्तृत प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ ।
एमालेले प्रतिनिधि सभा पुनःस्थापनाको मुद्दालाई जनताको आन्दोलनका रूपमा रूपान्तरण गर्ने उद्देश्य सहित देशव्यापी रूपमा जनपरिचालन अभियान सञ्चालन गर्न लागेको जनाएको छ ।





प्रतिक्रिया