गाैमुल खबर डटकम बिहीबार १३, कार्तिक २०८२ ००:२६

सिजन अगावै हिमपातले पर्यटक आपत्‌मा, किसान पनि चिन्तित

काठमाडौं 
गाैमुल खबर गाैमुल खबर
बुधबार, कार्तिक १२, २०८२
सिजन अगावै हिमपातले पर्यटक आपत्‌मा, किसान पनि चिन्तित

काठमाडाैं ःबंगालको खाडीमा बनेको चक्रवात आँधी 'मोन्था' को प्रभाव नेपालमा पनि देखिन सक्ने मौसमविद्हरूले बताएका छन् । बीबीसी हिन्दीका अनुसार पछिल्लो ६ घण्टामा 'मोन्था' चक्रवाती आँधीमा बदलिएको छ । भारतीय मौसम विभागले मोन्थाले भीषण रूप लिन सक्ने भन्दै रेड अलर्ट जारी गरेको छ ।

भुवनेश्वर मौसम विज्ञान विभागका अनुसार यतिबेला मोन्था पश्चिम-मध्य बंगालको खाडीभन्दा केही माथि सक्रिय रहेको छ । विभागकी निर्देशक मनोरमा मोहन्तीले भनेकी छिन्, 'यो आँधी उत्तर पश्चिमतर्फ अगाडि बढ्नेछ ।

आन्ध्र प्रदेशको तटीय क्षेत्र मछलीपट्टनम र कंलिगपट्टनमको बीचतिर आज साँझ वा राति ९० देखि १०० किमि प्रतिघण्टाको गतिले ठोक्किने सम्भावना रहेको छ ।'

नेपालमा कस्तो प्रभाव पर्नेछ ?

जल तथा मौसम विज्ञान विभागकी प्रवक्ता मौसमविद् विभुति पोखरेलका अनुसार बंगालको खाडीमा विकसित चक्रवात 'मोन्था' मंगलबार राति भारतको आन्ध्र प्रदेशमा प्रवेश गर्ने क्रममा रहेको छ । त्यसपछि उक्त चक्रवात विस्तारै कमजोर हुँदै उत्तर-उत्तर पश्चिम दिशामा सर्ने पोखरेलले जानकारी दिएकी छिन् ।

न्यूनचापीय क्षेत्रका रूपमा नेपालको मध्य भू-भाग नजिक आई पूर्वतर्फ सर्दै बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म नेपालको बागमती, मधेश र कोशी प्रदेशको मौसम प्रभावित हुने विभागले जनाएको छ ।

त्यस्तै मौसमविद् सञ्जीव अधिकारीले उक्त प्रणालीको प्रभावले मधेश र कोशी प्रदेशका धेरै स्थानहरूमा तथा बागमती प्रदेशका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको बताए । त्यस्तै मधेश र कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । मौसमविद् अधिकारीले भने, 'आज साँझतिर मोन्था चक्रवात जमिनमा ठोक्किएपछि विस्तारै कमजोर हुने अनुमान छ ।

नेपलामा यसको पेरिफेरल प्रभाव देखिने हो । मधेश र कोशीमा भारी वर्षा भए पनि गण्डकी र लुम्बिनी प्रदेशको पूर्वी भागमा भने कमजोर प्रभाव देखिन्छ ।' त्यस्तै विभागले कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरूमा तथा गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा मध्यम हिमपातको सम्भावना रहेको जनाएको छ । साथै कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा भारी हिमपातको सम्भावना समेत रहेको छ ।

केही नदीमा आकस्मिक बाढीको सम्भावना

विभागले बागमती, कमला, कोशी र कन्काई नदी र यी नदीका सहायक नदीहरुमा बहाव बढ्न सक्ने बताएको छ । साथै कोशी, बागमती र मधेश प्रदेशका महाभारत, चुरे भई बहने स-साना नदीनालाहरूमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको पनि मौसमविद्हरूले जनाएका छन् ।

बागमती प्रदेशका काठमाडौं उपत्यका, काभ्रे, सिन्धुपाल्चोक, दोलखा, मकवानपुर, चितवन र सिन्धुली, मधेश प्रदेशका बारा, पर्सा, सर्लाही, रौतहट, महोत्तरी, धनुषा, सप्तरी र कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ, पाँचथर, तेह्रथुम, भोजपुर, धनकुटा, इलाम, झापा, मोरङ, सुनसरी जिल्ला भई बहने स-साना नदीहरूमा आकस्मिक बहावको सम्भावना उच्च रहने देखिएको प्रवक्ता पोखरेलले जारी गरेको सूचनामा उल्लेख छ । विभागले वर्षा र हिमपातले नदीनालाहरूमा आकस्मिक बहाव र पहिरोको जोखिम रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

The impact of Cyclone 'Montha' developing in the Bay of Bengal will be felt in Nepal from Thursday afternoon.

प्रतिक्रिया