बाजरा ः गौमुल गाउँपालिकामा पहिलो पटक आयोजना गरिएको ‘प्रथम खुला गौमुल कप सेभन ए-साइड फुटबल प्रतियोगिता-२०८२’ को उपाधि केपी बा स्पोर्टस् क्लब बाजुराले हात पारेको छ ।
गत शनिबारदेखि सुरु भएको प्रतियोगिता क्रियटिभ युथ क्लब को आयोजनामा र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा सम्पन्न भएको हो ।
आज सम्पन्न रोमाञ्चक फाइनल खेलमा केपी बा स्पोर्टस् क्लबले राइजिङ स्टार क्लब गौमुल-५ मानाकोटलाई गोलरहित बराबरीमा रोक्दै पेनाल्टी सुटआउट मार्फत जित हात पारेको थियो ।
विजेता बनेको केपी बा स्पोर्टस् क्लबले रु.५१,००० नगद सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजेता राइजिङ स्टार क्लब गौमुल-५ मानाकोटले रु.३१,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको हो ।
पुरस्कार वितरण समारोहका प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकायाले विजेता टोलीलाई पुरस्कार वितरण गरे भने गौमुल गाउँपालिका-५ का वडा अध्यक्ष कलकबहादुर सिंहले उपविजेतालाई सम्मान गरेका थिए ।
समापन कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख तुलसीराम रोकाया, गौमुल गाउँपालिका ५ का वडाध्यक्ष कलकबहादुर सिंह, एमाले गाउँ कमिटी अध्यक्ष मोहन रोकाया, ईलाका प्रहरी कार्यालय गौमुलका प्रमुख विकास थापा, रेडियो गौमुलका स्टेशन प्रबन्धक रमित विक लगायतको सहभागीता रहेको थियो ।
प्रतियोगिताले गाउँपालिका तथा जिल्ला भित्रका युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने अवसर प्रदान गरेको क्लबका अध्यक्ष जीवन कुमार रोकायाले बताएका छन् ।
प्रतिक्रिया