बाजुरा ः गौमुल गाउँपालिकामा पहिलो पटक ‘प्रथम खुला गौमुल कप सेभन ए-साइड फुटबल प्रतियोगिता’ सुरु भएको छ । शनिबारदेखि सुरु भएको प्रतियोगिता क्रियटिभ युथ क्लबको आयोजनामा र गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालन भएको हो ।
गाउँपालिकाको केन्द्र घट्मुना स्थित खेलमैदानमा भएको उद्घाटन समारोह क्रियटिभ युथ क्लबका अध्यक्ष जीवनकुमार रोकायाको अध्यक्षतामा भएको कार्यक्रममा गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकाया प्रमुख अतिथि रहेका थिए ।
उक्त अवसरमा उपाध्यक्ष सीता थापा, बुढीनन्दा नगरपालिकाका नगर प्रमुख जनक कुमार बोहरा, नेकपा एमाले जिल्ला कमिटी सचिव काँशी विक, वडा नं. ६ का वडा अध्यक्ष प्रकाश रोकाया लगायत विशिष्ट अतिथिको रुपमा उपस्थिति थिए ।
साथै प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य कृष्ण ओली, एमाले जिल्ला सदस्य राजिव रोकाया, गणेश थापा, गाउँ कमिटी अध्यक्ष मोहन रोकाया, बाजुरा क्याम्पस स्ववियु सभापति लक्ष्मण रोकाया, युवा संघ जिल्ला संयोजक विष्णु कार्की, पत्रकार महासंघ जिल्ला उपाध्यक्ष रमित विक लगायत अतिथिहरु पनि सहभागी भएका थिए ।
उद्घाटनका अवसरमा राजनीतिक दलका प्रतिनिधि र कर्मचारीबीच मैत्रीपूर्ण फुटबल खेल समेत सञ्चालन गरिएको थियो । प्रतियोगितामा प्रथम हुने टिमले रु. ५१,००० नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टिमलाई रु. ३१,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने भएको छ ।
त्यसैगरी उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्ता (टप स्कोरर) लाई पनि सम्मान गरिने आयोजकले जानकारी दिएको छ ।





प्रतिक्रिया