बाजुरा : बाजुरामा लाइभ डेउडा कार्यक्रमले निरन्तरता पाएको छ । बार्जु सँस्कृतिको संरक्षणका लागि महिनाको दुई दिन अनिवार्य लाइभ डेउडा आयोजना गर्ने सुदूर साहित्य प्रतिष्ठानको योजना अनुसार नै कार्यक्रम सञ्चालन भइरहेको छ । यो श्रृखलाको पहिलो सुरुवाद साउन १५ गतेबाट गरिएको प्रतिष्ठानका अध्यक्ष हर्क खडायतले बताएका छन् ।
मेला महोत्सव हुँदा आधुनिक र लोक गीत अनि संगीत भरिएका डेउडाले मात्रै प्राथमिकता पाउने भएपछि प्रतिष्ठानले लाइभ डेउडाको संरक्षण गर्न कार्यक्रम आयोजना गर्न सुरु गरेको हो । गाउने कलाकार देखि हेर्ने दर्शकलाई रुचिको विषय पनि कम हुदै गएको प्रति चिन्ता बढेपछि लाइभ डेउडालाई स्थान दिन खोजिएको हो ।
मेलापात, माया प्रेम, मिलन विछोड, राजनीति सबै विषयलाई लाइभ मै सवाल जवाफ गर्ने र प्रश्न उत्तर गर्ने क्षमता डेउडा खेलाडीमा हुने गरेको छ । अरु भाका र गीतको भन्दा रस पनि डेउडामा नै मिल्ने गरेको विधा नै लोप हुने खतरा पछि लाइभ डेउडा आयोजना गर्न सुरु गरेको प्रति डेउडा खेलाडी खुसी छन् ।
प्रतिष्ठानले डेउडाकै जगेर्नाका लागि महिनाको २ दिन खुला डेउडा खेलको आयोजना गर्दै आएकोमा खुुसी लागेको दर्शकका रुपमा सहभागीहरुले पनि बताउने गरेका छन् । हर्नका लागि वृद्धवृद्धाहरुको बढी सहभागि हुने गरेको छ ।
डेउडा सँस्कृति लोप हुदै गयो, गाउने भएर पनि सम्मान र संरक्षण गर्न सकिएको छैन्, त्यसैले महिनाको १ गते र १५ गते अनिवार्य लाइभ डेउडा खेल आयोजना गर्न लागिएको प्रतिष्ठानको दाबी छ ।
सुदूर साहित्य प्रतिष्ठानको प्रस्तुती लाइभ डेउडा गौड्या भेट कार्यक्रमको नाम राखिएको पहिलो दिन मार्तडीमा शंकर मल्ल र सुना विकबीच लाइभ डेउडा गरेर कार्यक्रमको औपचारिक सुरुवाद गरिएको थियो । एक महिना पछि ठिक भदौ १५ गते तेस्रो कार्यक्रममा गंगा थापा, विस्ना विष्ट र रत्न शाहीबीच लाइभ डेउडा आयोजना गरिएको छ ।
बनपाखा, घाँस पात गर्दा पनि गुनगुनाउने, वारी वारी हुने प्रेम जोडीले सवाल जवाफ गर्ने, माइती छोड्दा वा प्रदेश गएका आफन्तलाई समेत डेउडा गीतकै मार्फत तिर्सना मेट्न सुख दुख सोध्ने परम्परा विस्तारै लोभ हुने अवस्था आएपछि संरक्षणका लागि प्रतिष्ठानले लाइभ डेउडालाई निरन्तरता दिएको हो ।
प्रतिष्ठनले बाजुरामा डेउडा प्रतियोगिता, महोत्सव र अन्य साहित्यीक र साँस्कृतिक कार्यक्रम पनि आयोजना गर्दै आएको छ । जिल्लाका सबै टोल र बस्तीमा पुग्ने, सबै टोल बस्ती र गाउँका डेउडा भाकालाई समेट्ने र त्यसको दृश्य सामाजिक सञ्जालमा लाइभ गर्ने तयारी प्रतिष्ठानले गरेको छ ।
देउडालाई देश विदेशसम्म थप विस्तार र विकास गर्नु छ, कला र गला भएकाहरुको सम्मान र संरक्षण पनि चाहिन्छ, भन्ने लक्ष्य सहीत गरिएको प्रयास निकै प्रशंसनीय र उपलब्धी मुलक हुने विश्वास डेउडा पारखीहरुको छ ।
डेउडा बाजुराको पहिचान हो, सिंगो जिल्लाको पहिचानको संरक्षण र प्रवद्र्धन गर्नु सबैको जिम्मेवारी हो । जिल्लामा गर्नु पर्ने मध्येको एक अनिवार्य काम प्रतिष्ठानले गरेर राम्रो गरेको र त्यसको निरन्तरता दिनु पर्नेमा देउडा खेलाडी सुना विकको छ ।
डेउडा सबैका लागि बुझ्न नसकिने भएपनि गीतको भाव मन छुने हुन्छ । सुन सुनौ सुनो लाग्ने, सुनि हाले मन दुखाई हाल्ने साहित्यको विधा हो, डेउडा । बाजुराले आफ्नो सम्पत्तिका रुपमा देउडा सँस्कृतिको विकास र संरक्षण आवश्यक देखिन्छ । कला साहित्य क्षेत्रको संरक्षणमा लागिहरु बाहेक स्थानीय पालिकाका तर्फबाट कुनै पहल र लगानी गरिएको छैन् ।
बाजुरा डेउडा सँस्कृतिका लागि उद्गम थलोको रुपमा लिने गरिएको छ । बाजुरामा रत्नाकर जैशी देखि हालका शंकरमल्लसम्म आइपुग्दा दर्जनौ डेउडा खेलाडी जन्मीएको इतिहास छ । सिंगो सुदूरपश्चिम त्यसैमा बाजुरा जिल्लाको आफ्नै मौलिक पहिचान र मुल सँस्कृति नै देउडालाई लिने गरिएको छ । डेउडा बार्जुसँस्कृतिसँग जोडिएको साहित्यिक र साँस्कृतिक विधा हो ।
लाइभ डेउडा लगाउने चर्चामा रहेका शंकर मल्ल, सुना विक, राइकला बुढा, राम बहादुर थापा, लोकमणी ओली सहीत दर्जनौ डेउडा खेलाडी देखि संगीत बजारमा डेउडा गीतकै कारण स्थापित लालबहादुर थापा, विनोद कुमार बाजुराली, राजेन्द्र शाह विपी, रेखा जोशी, प्रकाश थापा सुप्रिम मल्ल सहीत बाजुराकै हुन् ।
कला सँस्कृतिको क्षेत्रमा धनी भएपनि त्यसको संरक्षण र संवद्र्धनमा खासै चासो देखिने गरेको छैन् । व्यक्तिगत रुपमा आफू स्थापित हुने कुरामा बाजुरा उर्वर देखिएपनि संस्थागत र डेउडाको मौलिकता जोगाउन मुस्कील देखिएको छ । आधुनिकपनको विकासले सुदूरकै ढुकढुकी भनिएको डेउडाको आन्तरिक जीवन र मर्म लोप हुने खतरामा छ ।
प्रतिक्रिया