गाैमुल खबर डटकम शनिबार ०८, कार्तिक २०८२ १०:४३

गौमुल गाउँपालिकामा पहिलो ‘गौमुल कप सेभन ए-साइड फुटबल’ हुने, तयारी अन्तिम चरणमा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
शुक्रबार, कार्तिक ०७, २०८२
गौमुल गाउँपालिकामा पहिलो ‘गौमुल कप सेभन ए-साइड फुटबल’ हुने, तयारी अन्तिम चरणमा

बाजुरा ः गौमुल गाउँपालिकामा पहिलोपटक प्रथम खुला गौमुल कप सेभन ए-साइड फुटबल प्रतियोगिता सुरु हुन लागेको छ । शनिबारबाट सुरु हुने प्रतियोगिताको तयारी पूरा भएको आयोजक क्रियटिभ युथ क्लबले जानकारी दिएको छ ।

प्रतियोगिता गौमुल गाउँपालिकाको आर्थिक सहयोगमा आयोजना गरिएको हो । गाउँपालिकाको केन्द्र घट्मुनास्थित खेलमैदानमा हुने यो प्रतियोगितामा जिल्लाभरका टीमहरूले सहभागिता जनाउने अपेक्षा गरिएको छ ।

क्लबका अध्यक्ष जीवन रोकायका अनुसार खेलमैदान र व्यवस्थापन सम्बन्धी सबै तयारी पूरा भएको छ । खेल संयोजक सुरेश रोकायले मैदान सम्याउने, गोलपोस्ट र आवश्यक उपकरण तयारी गर्ने कार्य तीव्र गतिमा भइरहेको बताएका छन् ।

उनका अनुसार प्रतियोगिता व्यवस्थित र आकर्षक बनाउन स्थानीय युवाको स्वयंसेवी सहभागिता पनि उल्लेख्य रहेको छ । आयोजकले दिएको जानकारी अनुसार प्रतियोगितामा प्रथम हुने टिमले रु.५१,००० नगद, मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछ भने दोस्रो हुने टिमले रु.३१,००० नगद सहित मेडल, ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगिताका उत्कृष्ट खेलाडी, गोलरक्षक तथा सर्वाधिक गोलकर्ता (टप स्कोरर) लाई पनि सम्मान गरिने योजना रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको उद्घाटन गौमुल गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायाले गर्ने कार्यक्रम तय भएको छ ।

कार्यक्रममा उपाध्यक्ष सीता थापा, गाउँपालिकाका सबै वडाध्यक्षहरू, स्थानीय जनप्रतिनिधि, खेलप्रेमी र समुदायका अगुवाहरूको सहभागिता रहनेछ ।

आयोजक क्रियटिभ युथ क्लबका अध्यक्ष रोकायाका अनुसार, प्रतियोगिताको उद्देश्य गाउँका युवाहरूलाई खेलकुदतर्फ आकर्षित गर्नु, सकारात्मक प्रतिस्पर्धा र एकताको भावना विकास गर्नु रहेको छ ।

उनले भने, “हाम्रो गाउँमा खेलकुद संस्कृति विस्तार गर्न, युवामा क्षमता विकास गर्न र गाउँलाई खेलकुद केन्द्रका रूपमा चिनाउन यो प्रतियोगिता महत्वपूर्ण हुनेछ ।” खेलमा सहभागीताका लागि शनिबार बिहान १० बजेभित्र टिम दर्ता गरिसक्ने समयसीमा रहेको छ । 

 

प्रतिक्रिया