बाजुरा ः कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको पाँचौं दिन आज गाई र गोरुको पूजापूजा गरी मनाइँदै छ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व छ भनी आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ ।
गाईको दूध, गहुँत र गोबर पवित्र हुने भएकाले पनि गाईको पूजा गर्ने गरिएको छ। गाईको पूजा गरी आजका दिन मीठा मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैं प्राप्त हुने धार्मिक विश्वास छ ।
नेपालका कतिपय भाग र केही समुदायमा कात्तिक कृष्ण औँसीकै दिनमा गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको सुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्रा तोयराज नेपालले जानकारी दिए ।
वैदिक सनातन हिन्दू धर्मावलम्बीले गर्ने प्रत्येक कर्ममा गाईदान गर्ने विधि छ । पछिल्लो समय गाईको अभावमा पैसा राखेर गाईको अभावमा भनी सङ्कल्प पढिन्छ। आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जानका लागि वैतरणी नदी तारिदिने धार्मिक विश्वास समेत रहेको छ ।
आजैका दिन कृषि कर्म गर्न हलो जोतेर वर्षभर साथ दिने गोरुलाई समेत पूजा गरी मीठो मीठो खान दिने गरिन्छ। गोरुको साथमा जोत्ने हलीलाई समेत पूजा गरी खाना खुवाइन्छ। यसैले आजको दिनलाई गाई तिहार र हली तिहार समेत भन्ने गरिन्छ। आज गाई, गोरु र हलीलाई समेत मीठा कुरा खान दिइन्छ।
बडा दसैंको १५ दिनपछि सुरु हुने तिहारको पहिलो दिन कागको पूजा गरिन्छ। तिहारका पाँच दिन क्रमशः काग, कुकुर, गाई (लक्ष्मी), गोरु (गोवद्र्धन) र अन्तिम दिन कार्तिक शुक्ल पक्षको द्वितीया तिथिमा भाइटीका लगाएर मनाइने भएकाले यसलाई यमपञ्चक पनि भनिन्छ ।
पाँच दिन मनाइने काग, कुकुर, गाई (लक्ष्मीपूजा), गोरु (गोवर्द्धनपूजा) र भाइटीकाबारे हिन्दु धर्मशास्त्रमा वर्णन गरिएको छ। भाइटीकाका दिन दिदीबहिनीले दाजुभाइलाई विधिपूर्वक पूजाआजा गर्ने र सप्तरंगी टीकाका साथै कहिल्यै नओइलिने मखमली फूलको माला लगाइदिने चलन छ।
दाजुभाइले पनि दिदीबहिनीलाई दान-दक्षिणा एवं वस्त्र आदि दिने गरिन्छ। हिन्दू धर्मशास्त्रअनुसार सूर्यका छोरा यमराजले आफ्नी बहिनी यमुनाको निम्तो स्वीकार गरी बहिनीका घरमा गई पाँच दिनसम्म बिताएकाले तिहारलाई यमपञ्चक भनिएको हो।





प्रतिक्रिया