बाजुरा ः गौमुल गाउँपालिका-४ का वडा अध्यक्ष अमर विकले खेलाडी र युवाको भविष्य सुन्दर बनाउने संकल्प रहेको बताएका छन् ।
आज माउण्टेन भिजन युवा क्लबले आयोजना गरेको शुभकामना आदान प्रदान तथा भलिबल प्रतियोगीता कार्यक्रमको सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
युवा खेलाडीहरु देशका गौरव हुन् । उनीहरुकै हातमा हाम्रो राष्ट्रिय पहिचान र उज्ज्वल भविष्य निहित रहेको दाबी गरेका छन् । आजको युग प्रतिस्पर्धा र अवसरको युग हो ।
खेलकुद केवल मनोरञ्जन वा शारीरिक अभ्यासको माध्यम मात्र होइन, अनुशासन, परिश्रम, प्रतिबद्धता र नेतृत्वको विद्यालय पनि भएको उल्लेख गरेका छन् ।
खेलकुदले युवामा आत्मविश्वास, सहनशीलता र टीमवर्कको भावना जागृत हुने विश्वास व्यक्त गर्दै जुन गुणहरू जीवनका हरेक क्षेत्रमा सफलता प्राप्त गर्न अपरिहार्य हुनेमा जोड दिएका छन् ।
खेलकुदमा लगानी गर्नु भनेको देशको भविष्यमा लगानी गर्नु भएकै कारण वडाको आर्थिक सहयोगमा महिला पुरुष भलिबल प्रतियोगीताको आयोजना गरिएको स्पष्ट पारेका छन् ।
राज्य अभिभावक र समाज सबैले युवालाई अवसर, प्रशिक्षण र सहयोगको वातावरण दिनुपर्छ भन्ने मान्यता आफ्नो रहेको विकको भनाई रहेको छ ।
आफ्नो समयलाई सही दिशामा प्रयोग गरी अनुशासन र निरन्तरतामा विश्वास राखेर खेलकुदलाई जीवनको अंग बनाउन सबैलाई अपिल समेत गरेका छन् ।
प्रतिक्रिया