बाजुरा ःदुई वर्षसम्म छोरा फर्कने आसमा बिताएका कञ्चनपुरको भीमदत्त नगरपालिका-३ स्थित बिचपुरी मल्लिकार्जुन टोलमा बस्दै आएको विपिन जोशीको परिवार शोकमा डुबेको छ।
सोमवार अपराह्नसम्म विपिन जीवितै रहेको हुन सक्ने आशा गरेर बसेका जोशी परिवार हमासले सोमवार इजरायली सुरक्षा फोर्सलाई हस्तान्तरण गरेको चार जनाको शवमध्ये एक विपिनको पुष्टि भएको समाचारपछि शोकाकुल बनेको हो।
सोमवार हमासले इजरायली पक्षलाई हस्तान्तरण गरेको शवको फरेन्सिक जाँचपछि विपिनको मृत्यु भएको पुष्टि गरिएको थियो। इजरायलको नेसनल इन्स्टिच्युट अफ फरेन्सिक मेडिसिनको परीक्षण प्रतिवेदन अनुसार बन्धक अवस्थामा सन् २०२३ को अन्त्यतिरै विपिनको हत्या भएको इजरायली पक्षको दाबी छ।
कृषिविज्ञ बन्ने सपना बोकेर विसं २०८० भदौमा इजरायल उड्नुभएका विपिनलाई सधैँका लागि गुमाएपछि जोशी परिवारमा सन्नाटा छाएको छ। विपिनका दाजु ठुलोबुबाका छोराले दुई वर्षदेखिको आशा अब शोकमा बदलिएको बताए। उनले भने, 'हामी समालिन सकिरहेका छैनौँ।'
अमेरिकामा रहेका विपिनका आमा र बहिनी बिहीबार अमेरिकाबाट फर्कंदै छन्। यतिबेला घरमा विपिनका बुबा महानन्द जोशी मात्रै बसिरहेका छन्। इजरायली पक्षले सोमवार बिहान भिडियो कन्फ्रेन्समार्फत इजरायलस्थित नेपाली राजदूत, विपिनकी बहिनी पुष्पा र दाजु किशोरलाई विपिनको मृत्यु भएको खबर प्राप्त भएको जानकारी गराएको थियो।
शव नेपाल पठाउने प्रक्रिया सुरु
यसैबिच परराष्ट्र मन्त्रालयले मङ्गलवार एक विज्ञप्ति जारी गर्दै हमास समूहले रेडक्रसमार्फत इजरायललाई हस्तान्तरण गरेको जोशीको शव नेपाल पठाउने प्रक्रिया सुरु गरिसकेको जनाएको छ । परराष्ट्र सचिव अमृतबहादुर राईले इजरायलका परराष्ट्र मन्त्रालयका समकक्षी महानिर्देशक इडेन बार तालसँगको टेलिफोन संवादमा यस्तो जानकारी प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा विपिन जोशीको मृत्युको खबरले स्तब्ध भएका उल्लेख गर्दै भनिएको छ 'विपिन जोशीको शव नेपाल ल्याइसकेपछि पनि उहाँको मृत्युको वास्तविक कारण र परिस्थितिका सम्बन्धमा सम्बन्धित सरकार तथा सरोकारवालासँगको सहयोग र समन्वयमा सत्यतथ्य पत्ता लगाउने, न्याय दिलाउने र उहाँको परिवारले पाउने सामाजिक सुरक्षा क्षतिपूर्ति, बिमा, सुविधा आदिका लागि उचित पहल जारी राखिने छ।'
प्रतिक्रिया