गाैमुल खबर डटकम मङ्गलबार २३, भदौ २०८३ ०३:१५

नक्राडा टोलका केही घर पहिरोको जोखिममा, अन्नबालीदेखि सिँचाइ कुलोसम्म क्षति

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ २२, २०८३
नक्राडा टोलका केही घर पहिरोको जोखिममा, अन्नबालीदेखि सिँचाइ कुलोसम्म क्षति

बाजुरा ः गौमुल गाउँपालिका-५ नक्राडा टोलका दर्जनबढी घर पहिरोको जोखिममा परेका छन्। निरन्तर भइरहेको भारी वर्षाका कारण बस्ती आसपास पहिरो खस्दा स्थानीयको घर तथा कृषि क्षेत्रमा क्षति पुगेको हो।

स्थानीय लालवीरे रोकाया र बलबहादुर रोकायाको घरको पछाडीपट्टि पहिरो खसेको छ। पहिरोका कारण घर जोखिममा परेपछि स्थानीय त्रसित बनेका छन्। त्यस्तै, स्थानीय विष्णु चँदाराको अन्नबालीमा समेत पहिरोले पूर्ण क्षति पुर्‍याएको छ।

भारी वर्षासँगै आएको बाढीका कारण गौमुल गाउँपालिका जलवायु अनुकूलन परियोजना अन्तर्गत निर्माणाधीन काठीखेत सिँचाइ कुलोको नहरसमेत रतखोला खोलाले बगाएको छ। कुलोमा क्षति पुगेपछि स्थानीयको खेतीपातीमा समेत थप समस्या उत्पन्न हुने देखिएको छ।

वर्षाका कारण वडाका विभिन्न स्थानमा अन्नबाली, पैदल बाटो तथा सडकमा समेत ठूलो क्षति पुगेको स्थानीयले बताएका छन्।

क्षतिको अवस्थाबारे नेकपा (एमाले) गौमुल गाउँ कमिटी अध्यक्ष मोहन रोकायाको नेतृत्वमा स्थलगत अनुगमन गरिएको छ। अनुगमनका क्रममा पहिरो तथा बाढीबाट प्रभावित क्षेत्रको अवस्था अवलोकन गर्दै थप जोखिम रहेका बस्तीको पहिचान गरिएको जनाइएको छ।

निरन्तर वर्षा भइरहेकाले नक्राडा टोलमा थप पहिरोको जोखिम बढ्न सक्ने भन्दै स्थानीयले तत्काल आवश्यक सुरक्षा तथा राहतको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

प्रतिक्रिया