गाैमुल खबर डटकम सोमबार २२, भदौ २०८३ ०३:१६

पहिरोको कहरमा बाजुरा : न सडक चल्यो, न बत्ती बल्यो, जनजीवन अस्तव्यस्त

बाजुरा
गाैमुल खबर गाैमुल खबर
सोमबार, भदौ २२, २०८३
पहिरोको कहरमा बाजुरा : न सडक चल्यो, न बत्ती बल्यो, जनजीवन अस्तव्यस्त

बाजुरा ःलगातारको भारी वर्षासँगै आएको बाढी र पहिरोले बाजुराको जनजीवन अस्तव्यस्त बनेको छ। पहिरोका कारण जिल्ला सदरमुकाम मार्तडी जोड्ने प्रमुख साँफे-मार्तडी सडकखण्ड अवरुद्ध हुनुका साथै ३२ वटा विद्युत् पोल ढलेपछि जिल्लाभर विद्युत् सेवा समेत बन्द भएको छ।

सडक र विद्युत् सेवा अवरुद्ध हुँदा सर्वसाधारणको दैनिक जीवनदेखि सरकारी सेवा, व्यापार-व्यवसाय, सञ्चार तथा आवतजावतसम्म प्रभावित भएको छ। सडक बन्द भएपछि सदरमुकाम र ग्रामीण क्षेत्रबीचको यातायात सम्पर्क प्रभावित भएको छ भने विद्युत् नहुँदा जिल्लाका विभिन्न क्षेत्रमा सर्वसाधारण अँध्यारोमा बस्न बाध्य भएका छन्।

पहिरोले सडक ठप्प, यात्रु बीच बाटोमै अलपत्र

शनिबार रातिदेखि लगातार परेको वर्षाका कारण बडीमालिका नगरपालिका-९ अन्तर्गत कारागार मोड, विनोद स्मृति प्रतीक्षालय, सेलागाड र सुवाकाँध लगायतका स्थानमा सडक माथिबाट पहिरो खसेपछि यातायात अवरुद्ध भएको हो।

त्यस्तै, बडीमालिका नगरपालिका-८ को राप्का र वडा नं. ६ को जडाङ्गा लगायतका स्थानमा समेत पहिरो खसेर सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ।

सडक अवरुद्ध भएपछि यात्रु तथा सवारी साधन बीच बाटोमै रोकिनुपर्ने अवस्था आएको छ। अत्यावश्यक कामका लागि सदरमुकाम आउजाउ गर्ने नागरिक, बिरामी तथा दैनिक उपभोग्य सामग्री ढुवानीमा समेत समस्या भएको छ।

सडक खुलाउन हिजो बिहानैदेखि दुईवटा डोजर परिचालन गरिएको थियो। बडीमालिकानगरपालिका-६ को नुनेपानीसम्म सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक गगनसिंह भट्टले जानकारी दिए।

उनका अनुसार बाँकी अवरुद्ध क्षेत्रमा समेत काम भइरहेको र आज साँझसम्म सडक पूर्ण रुपमा सञ्चालनमा आउन सक्ने सम्भावना छ। तर, वर्षा नरोकिएकाले सडकका अन्य जोखिमयुक्त स्थानमा समेत पहिरो खस्न सक्ने सम्भावना रहेको प्रहरीले जनाएको छ। प्रहरीले यात्रु तथा सवारी चालकलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।

३२ पोल ढलेपछि जिल्लाभर अँध्यारो

लगातारको वर्षासँगै आएको पहिरोले ३२ वटा विद्युत् पोल ढालेपछि बाजुरामा राष्ट्रिय प्रसारण लाइनको विद्युत् सेवा समेत अवरुद्ध भएको छ। शनिबार रातिदेखि जिल्लाभर विद्युत् सेवा बन्द छ।

बडीमालिका नगरपालिका-८ अन्तर्गत सुवाकाँध, वीरेखोला र नुनेपानी क्षेत्रमा पहिरो खस्दा विद्युत् पोल तथा प्रसारण लाइनमा ठूलो क्षति पुगेको नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्रले जनाएको छ।

नेपाल विद्युत् प्राधिकरण बाजुरा वितरण केन्द्रका सुपरभाइजर सागर सिंहका अनुसार वैकल्पिक व्यवस्था मार्फत आज रातिसम्म विद्युत् आपूर्ति सुचारु गर्ने प्रयास भइरहेको छ।

अछामबाट आएको दुईवटा प्रसारण लाइनमध्ये एउटामा बढी र अर्कोमा कम क्षति पुगेको उनले बताए। कम क्षति भएको प्रसारण लाइन मर्मत गरेर तत्काल विद्युत् सेवा सञ्चालन गर्ने तयारी भइरहेको सिंहले जानकारी दिए।

बाजुरामा अछामदेखि जिल्ला सदरमुकाम मार्तडीसम्म ३३ केभी राष्ट्रिय प्रसारण लाइन मार्फत विद्युत् आपूर्ति हुँदै आएको छ। तत्कालका लागि ११ केभी लाइन मार्फत विद्युत् सेवा सञ्चालन गर्ने तयारी भइरहेको सिंहले बताए।

सरकारी कार्यालयदेखि सञ्चारमाध्यमसम्म प्रभावित

विद्युत् र सडक दुवै सेवा प्रभावित भएपछि जिल्लाको दैनिक जनजीवनमा प्रत्यक्ष असर परेको छ। सदरमुकाम मार्तडी सहित जिल्लाका विभिन्न क्षेत्रमा घरपरिवार अँध्यारोमा बस्न बाध्य भएका छन्।

विद्युत्बाट सञ्चालन हुने सरकारी कार्यालयका सेवा, बैंक तथा वित्तीय संस्था, व्यापा-–व्यवसाय, होटल तथा पसल, सञ्चारमाध्यम र अन्य दैनिक कामकाज प्रभावित भएका छन्।

विद्युत् अभावका कारण मोबाइल चार्ज गर्नेदेखि इन्टरनेट तथा सञ्चार सेवा प्रयोग गर्नसमेत समस्या भएको छ। सडक अवरुद्ध हुँदा अत्यावश्यक सामग्रीको ढुवानी प्रभावित हुन सक्ने र बजारमा दैनिक उपभोग्य वस्तुको आपूर्तिमा समेत असर पर्न सक्ने स्थानीयको चिन्ता छ।

विशेषगरी ग्रामीण क्षेत्रबाट उपचार, शिक्षा, रोजगारी तथा अन्य अत्यावश्यक कामका लागि सदरमुकाम आउने नागरिकलाई सडक अवरोधले थप समस्या पारेको छ।

वर्षा नरोकिँदा जोखिम कायमै

लगातार पानी परिरहेकाले बाजुराका सडक, विद्युत् संरचना तथा बस्तीहरूमा जोखिम अझै कायमै रहेको छ। पहिरोका कारण सडक र विद्युत् संरचनामा क्षति पुगेका क्षेत्रमा थप क्षति हुन सक्ने सम्भावना रहेकाले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरिएको छ।

प्रशासन, प्रहरी, सडक तथा विद्युत् प्राधिकरणका प्राविधिक टोलीहरु अवरुद्ध सेवा सञ्चालनमा ल्याउन परिचालन भए पनि निरन्तरको वर्षा चुनौती बनेको छ।

सडक अवरुद्ध हुँदा यात्रा रोकिएको छ, विद्युत् बन्द हुँदा घरदेखि कार्यालयसम्मको दैनिकी रोकिएको छ। लगातारको वर्षाले बाजुरामा प्राकृतिक विपद्को जोखिमसँगै जनजीवनको सामान्य लयसमेत प्रभावित बनाएको छ।

प्रतिक्रिया