काठमाडौं : जेन-जी आन्दोलनपछि नेपाली कांग्रेस केन्द्रीय समितिको बैठक पहिलोपटक आज बस्दैछ। कांग्रेसमा मुख्य एजेन्डाका रूपमा रहेको नियमित कि विशेष महाधिवेशन भन्ने विषय नै आजको बैठकको मुख्य एजेन्डा छ। पार्टी केन्द्रीय कार्यालयमा बस्न लागेको बैठकमा सबै केन्द्रीय सदस्यहरूको राय लिएपछि मात्र कुन खाकाको महाधिवेशन गर्ने भन्ने तय गरिने भएको छ।
मंसिरभित्रै महाधिवेशन गर्ने कि नगर्ने भन्नेमा कांग्रेसको संस्थापन र इतर पक्षबीच सहमति अझै जुट्न सकेको छैन। एजेन्डा तय गर्न चार दिनदेखि बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकले महाधिवेशनसम्बन्धी तालिकामा सहमति नजुट्दा मंगलबार ११ बजेलाई बैठक बोलाइएको छ। पहिला बैठक बसेर एजेन्डा तय गर्ने र १ बजे केन्द्रीय समितिको बैठक बस्ने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए।
इतर पक्षका नेता गुरुराज घिमिरेसहित १ सय ९ नेताहरूले असोज ६ गतेबाट विशेष महाधिवेशन माग्दै हस्ताक्षर संकलन थालेका थिए। विशेष महाधिवेशन माग गरेको समूहले भने संकलित गरेको हस्ताक्षर आज केन्द्रीय समितिको बैठकअघि केन्द्रीय कार्यालयमा दर्ता गर्ने तयारी गरेको छ। सोमबारै उपसभापति पूर्णबहादुर खड्कालाई बुझाउने तयारी भए पनि केन्द्रीय कार्यसम्पादन समितिको बैठक स्थगित भएपछि रोकिएको केन्द्रीय सदस्य तथा हस्ताक्षर अभियानकामध्ये एक मधु आचार्यले बताए। उनले भने, ‘सोमबार दिउँसोको समय लिएका थियौं।
उपसभापतिजीलाई भनेका पनि थियौं। तर, केन्द्रीय कार्यसम्पादन समितिको बैठक नबसेपछि समय मिलेन अब मंगलबारै गरौं भन्नु भएको छ। ’ विशेष महाधिवेशनको पक्षमा अहिलेसम्म ५३ प्रतिशत प्रतिनिधिले हस्ताक्षर गरिसकेको पनि आचार्यले बताए। आचार्यले केन्द्रीय कार्यालयमा हस्ताक्षर दर्ता गरेपछि महामन्त्रीद्वयले पार्टीको तर्फबाट बैठकमा प्रस्ताव स्वरूप लैजाने तयारी भएको पनि उनले उल्लेख गरे।
त्यसो त नियमित महाधिवेशन गर्ने भन्नेमा केन्द्रीय नेताहरूबीच करिब-करिब सहमति भइसकेपछि हस्ताक्षर फिर्ता गर्ने महाधिवेशन प्रतिनिधिहरू पनि निस्कन थालेका छन्। केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका ४० प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्ने उल्लेख छ।
त्यही विधानलाई टेकेर हस्ताक्षर अभियान चलाइएको हो। संस्थापन पक्षका नेताहरूले भने हस्ताक्षर संकलन गरेर पार्टी विभाजनको बाटोमा लगेको आरोप लगाउँदै आएका छन्। संस्थापन पक्षको एउटा पक्ष पार्टी सभापति देउवाकै नेतृत्वमा १५औं महाधिवेशन गराउन चाहन्छ भने अर्को समूह कार्यवाहक अध्यक्ष तोकेर एक वर्षभित्रमा गर्ने गरी महाधिवेशनको मिति तोकेर जानुपर्ने दबाब दिँदै आएका छन्। संस्थापन पक्ष मंसिरमा महाधिवेशन गर्न सम्भव नहुने भन्दै चुनावपछि सार्नुपर्ने अडान राख्दै आएका छन्।
महामन्त्रीद्वयलगायतले मंसिरमा नियमित महाधिवेशन नभए विशेष महाधिवेशन विकल्पमा राखेका छन्। कांग्रेसको नियमित महाधिवेशन मंसिरभित्रमा गर्न भन्दै पार्टीको एउटा समुहले नेतृत्वको ध्यानाकर्षण गराएको छ। कांग्रेसका युवा नेताहरूको एक समूहले मुख्य सचिव कृष्णप्रसाद पौडेलमार्फत सभापति शेरबहादुर देउवाको ध्यानाकर्षण गराएका हुन्। नियमित महाधिवेशनले मात्रै पार्टीका संरचनामा युवा पुस्ताको सम्मानजनक सहभागिता हुने बाटो खुल्ने ध्यानाकर्षण पत्रमा उल्लेख छ।
पत्रमा भनिएको छ, ‘पार्टीको पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणको प्रक्रियालाई वैधानिक रूपमा अघि बढाउन सक्ने एक मात्र विकल्प भनेको विधिवत् नियमित महाधिवेशनमात्रै हो।’ ध्यानाकर्षण पत्र बुझाउने नेविसंघका पूर्वनेता दीपक भट्टराईले कांग्रेसमा आन्तरिक एकता हुनुपर्ने र मंसिरभित्रै नियमित महाधिवेशन हुनुपर्ने बताए।
सभापति देउवा नेतृत्वको कार्यसमितिको अवधि यही मंसिरमा सकिने हुँदा थप गर्न नहुने उनले बताए। उनले भने, ‘नयाँ पुस्तालाई निषेध गरी हुने महाधिवेशनले कांग्रेस र देशको माग सम्बोधन गर्न सक्दैन।’ जेन-जी युवाहरूको भावना अनुरूप सुशासन, पारदर्शिता र भ्रष्टाचारमा शून्य सहनशीलताको मुद्दालाई पार्टीले गम्भीरतापूर्वक लिनुपर्ने ध्यानाकर्षणपत्रमा उल्लेख गरिएको छ।
प्रतिक्रिया