बाजुरा : जिल्लाकाे गौमुल गाउँपालिकामा रहेको घट्मुना आधारभूत अस्पतालमा रुघाखोकी र ज्वराेका बिरामी बढेका छन् । मौसम परिवर्तन भएसंगै भाइरल ज्वरो, रुघाखोकी तथा टाइफाइडका विरामीको संख्या बढ्दै गएका हुन् ।
उच्च ज्वरो आउँने, टाउँकोे दुख्ने, हातखुट्टा दुख्ने लगायत लक्षणका बिरामीहरु अस्पतालमा आउने गरेका छन् । अस्पतालमा दैनिक १० देखि १५ जनासम्म मौसमी भाइरका विरामीहरु उपचारका लागि पूग्ने गरेका घट्मुना आधारभूत अस्पतालका स्टाफ नर्स अप्सरा बोहराले बताएकी छन् ।
बर्षायाम सकिएर हिउँदे मौसम सुरुभएसंगै पछिल्लो केही दिनदेखि मौसमी बिरामीको ठुलो संख्यामा उपचारका लागि अस्पतालमा आउने गरेको उनले बताईन् । उनकाअनुसार अहिले अस्पतालमा भाइरल ज्वरो, रुघाखोकी टाइफाइड, झाडापखाला, निमोनिया जस्ता समस्या लिएर आउने गरेका छन् ।
पेट दुख्ने, टाउँको दुख्ने, ज्वरो आउने, बान्ता हुने, पखाला लाग्ने समस्या लिएर पनि अस्पतालमा आउने गरेको स्वास्थ्यकर्मी बिस्ना बोहराले बताएकी छन् । उनले भनिन् बर्खेयममा पानी खुल्डा खुल्डीमा जमेको हुन्छ, त्यही पानी मुलको हो भनेर खाने गर्नाले पनि बिरामी हुने गरेका हुन् ।
रुघाखोकी र टाइफाइडबाट बच्न विशेष गरी उमालेको पानी पिउने, फलफूल, गेडागुडी तथा झोलिला खानेकुरा जस्ता खाना खाने र सबैभन्दा बढी खानपानमा ध्यान दिन स्वास्थ्यकर्मीले सुझाव दिएका छन् ।
मौसम परिवर्तन भएकाले ज्वरो र रुघाखोकी लाग्दा नआत्तिन तथा नजिकको स्वास्थ्य संस्थामा गएर उपचार गराउन अस्पतालले सबैलाई आग्रह गरेको छ ।
प्रतिक्रिया