गाैमुल खबर डटकम मङ्गलबार २८, असोज २०८२ ०७:०८

कर्णाली नदीमा फेला परेको शवको पहिचान खुल्यो, प्रेमजोडीले सँगै हाम फालेको खुलासा

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बिहीबार, असोज २३, २०८२
कर्णाली नदीमा फेला परेको शवको पहिचान खुल्यो, प्रेमजोडीले सँगै हाम फालेको खुलासा

बाजुरा ः कर्णाली नदीमा फेला परेको बेवारिसे शवको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार शव हुम्ला जिल्ला चंखेली गाउँपालिका-४ माथिल्लो पालीकी २० वर्षीया कर्मा बोहराको भएको पुष्टि भएको हो ।

बुधबार बिहान हिमाली गाउँपालिका-६ झुगाला नजिकै कर्णाली नदीको किनारमा दुई ढुंगाबीच सडेगलेको अवस्थामा ती युवतीको शव फेला परेको थियो । प्रहरीले शवलाई उद्धार गरी कोल्टी अस्पतालमा ल्याएको थियो ।

शव फेला परेको जानकारी पाएपछि मृतक कर्माका बुबा हर्क बोहरा सहितका आफन्त अस्पताल पुगेका थिए । उनीहरूले घाँटीमा लगाएको सिक्री र शारीरिक बनावटका आधारमा शवको पहिचान गरेका हुन् ।

परिवारका अनुसार कर्मा केही दिनअघि सोही गाउँका २३ वर्षीय हंस बुढाथोकीसँग हराएकी थिइन् । उनीहरूबीच लामो समयदेखि प्रेम सम्बन्ध रहेको र असोज ११ गते बिहान दुबैजनाले कर्णाली नदीमा हाम फालेको प्रारम्भिक बुझाइ रहेको प्रहरीले जनाएको छ ।

घटनापछि स्थानीयले खोजी गरेपनि उनीहरू फेला परेनन् । करिब १२ दिनपछि बाजुराको झुगालामा कर्माको शव फेला परेपछि परिवार र गाउँ शोकमा डुबेको छ । कर्मासँगै हाम फालेका युवक हंस बुढाथोकी भने हालसम्म बेपत्ता रहेका छन् ।

उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । पोष्टमार्टमपछि मृतक युवतीको शव परिवारको जिम्मा लगाइएको छ । प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ ।
 

प्रतिक्रिया