गाैमुल खबर डटकम बिहीबार २३, असोज २०८२ ०२:०१

बुढीनन्दाका नगर प्रमुख बोहरा भन्छन् : कोल्टीमा विद्युत र खानेपानी समस्या समाधान हुन्छ

बाजुरा
गाैमुल खबर गाैमुल खबर
बुधबार, असोज २२, २०८२
बुढीनन्दाका नगर प्रमुख बोहरा भन्छन् : कोल्टीमा विद्युत र खानेपानी समस्या समाधान हुन्छ

बाजुरा : बुढीनन्दा नगरपालिका कोल्टीका मेयर जनक कुमार बोहराले स्थानीय जनताको ज्वलन्त समस्या खानेपानी र विद्युत् समाधानका लागि नगरपालिका निरन्तर संवेदनशील र सक्रिय रहेको बताएका छन्। हालै कोल्टीमा स्थानीय युवाहरूले नगरपालिकामा तालाबन्दी गरेपछि मेयर बोहराले सामाजिक सञ्जाल मार्फत प्रतिक्रिया दिँदै आफूहरूले जनताका समस्याप्रति सधैं जिम्मेवार भएर काम गरिरहेको स्पष्ट पारेका हुन्।

“हामी जनताका आधारभूत र ज्वलन्त समस्यामा सधैं संवेदनशील छौं र तत्काल सम्बोधन पनि गर्छौं। हाम्रा कुरा सुन्छन् र काम गर्छन् भनेर नै होला, हामीलाई गालीको ओइरो पनि आउँछ, ताली पनि आउँछ-दुवै स्वाभाविक रूपमा लिन्छौं,” मेयर बोहराले भनेका छन्।

उनका अनुसार, हिजोका दिनमा मोबाइल चल्दैनथ्यो, बत्ती धिपधिपे थियो, खोलाको पानी पिउनुपर्ने अवस्था थियो र संचार सुविधा पनि सीमित थियो। “युवाहरूले अवस्था बुझेर पनि नगरपालिका तालाबन्दी गरे, म त्यसलाई पनि सकारात्मक रूपमा लिएको छु,” उनले लेखेका छन्। मेयर बोहराले हाल नगरपालिका बाहिर रहेका कारण तत्काल उप-प्रमुख र प्रवक्ताको नेतृत्वमा तालाबन्दी खोलिएको जानकारी पनि दिएका छन्।

विद्युत र खानेपानीमा दीर्घकालीन योजना

बोहराका अनुसार, कोल्टीका प्रमुख समस्या खानेपानी र विद्युत हुन्। यी दुवै क्षेत्रको दीर्घकालीन समाधानका लागि नगरपालिका पहिलो दिनदेखि नै सक्रिय छ।

नगरपालिकाले पुराना खानेपानी र विजुली समिति भंग गरेर दुवै सेवा पालिकाको मातहतमा ल्याएको छ। खानेपानी व्यवस्थापनको जिम्मा वडा नं. २ का अध्यक्ष नन्दराज गिरीलाई र विद्युत समन्वयको जिम्मा वडा नं. ६ का अध्यक्ष गजेन्द्र बहादुर शाहीलाई दिइएको छ।

हाल नगरपालिका मार्फत खानेपानी र विद्युत् सेवा मर्मतसहित निःशुल्क रूपमा उपलब्ध गराइएको मेयर बोहराले बताएका छन्। तर वर्षायाममा कुलो भत्किनु र पोल ढल्नुजस्ता कारणले समस्या आउने गरेको उनले स्वीकारेका छन्।

२५ लाखको बजेटमा राष्ट्रिय प्रसारण लाइन जोडिँदै

विद्युत् आपूर्तिको दीर्घकालीन समाधानका लागि नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरी २५ लाख रुपैयाँ विनियोजन गरिएको र कोल्टीमा राष्ट्रिय प्रसारण लाइन जडानको प्रक्रिया सुरु भइसकेको मेयर बोहराले जानकारी दिएका छन्।

“बर्खाका कारण मार्तडी–कोल्टी सडक खण्डका पोलहरू ढलेका छन्। त्यसैले केही ढिलो भएको हो। १/२ दिनमै कोल्टीमा ट्रान्सफर्मर जडान हुँदैछ। सकेसम्म तिहारमा राष्ट्रिय प्रसारण लाइनको बत्ती बाल्ने हाम्रो योजना छ,” उनले भनेका छन्।

त्यस्तै, (RERAS) परियोजनासँगको सहकार्यमा जुड्डी र पिलुचौर क्षेत्रको बत्ती कोल्टीमा जोड्ने ठेक्का पनि भइसकेको उनले जनाएका छन्।

२७ करोडको खानेपानी आयोजना अघि बढ्दै

खानेपानी क्षेत्रमा २७ करोड रुपैयाँको बृहत् आयोजना अघि बढिरहेको मेयर बोहराले बताएका छन्। हाल दोस्रो र तेस्रो वडा अध्यक्षको सक्रियतामा कालगाठी क्षेत्रबाट अतिरिक्त पानी ल्याइएको छ।

“कुरुभावन मुहानबाट कोल्टीसम्म पानी ल्याउन पहिलो चरणमा ७ करोडको ठेक्का भइसकेको छ र पाइप पनि धुपागाडमा आइपुगेका छन्,” उनले भने।

मेयर बोहराले कोल्टीमा ‘नक्कली जेनजिको नाममा सार्वजनिक सम्पत्तिमा आगजनी गर्ने प्रयास असफल भएको’ दाबी गर्दै त्यस्ता गतिविधि नगरवासीको एकताबाट निष्फल भएको बताएका छन्।

“को–कोले के-के गरे भन्ने सम्पूर्ण सूचना हाम्रो नजिक छ। अझै के–के गर्न खोज्दैछन्, त्यसको पनि हिसाब–किताब हुनेछ,” उनले चेतावनी दिएका छन्।

अन्त्यमा मेयर बोहराले कोल्टीबासी र नगरवासीलाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्दै नगरपालिका सधैं जनताका समस्याको समाधानमा अग्रसर रहेको पुनः दोहोर्‍याएका छन्।

प्रतिक्रिया